रामेछाप । रामेछापको मन्थली नगरपालिका ९ बाहुन्चुरा स्थित बोहोराहरुको कुलायन मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । कुलायन गुरु दिपक खड्काले उक्त मन्दिरको उद्घाटन गरेका हुन् । उनले मन्दिर निर्माणमा बोहोरा बन्धुहरुले गरेको योगदान र समर्पणको प्रशंसा गरे । बाहुन्चुरा बोहोरा बन्धु कुल प्रतिष्ठानका अध्यक्ष निलवहादुर बोहोराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कुलायन गुरु खड्कालाई सम्मान समेत गरिएको थियो ।

बर्षौ देखि कुल पुजा गर्न नपाएका बाहुन्चुराका बोहोराहरुलाई गत बर्ष कुलायन गुरु खड्काले कुल उतारेका थिए । त्यसबेला बोहोरा बन्धुहरुले चढाएको भेटि वापत संकलन भएको १ लाख रुपैयाँ खड्काले कुलायन मन्दिर निर्माणका लागि प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए । उक्त रकम मुल पुँजि भएपछि स्थानीयहरुले सहयोग संकलन गरी कुल ६ लाख १० हजारको लागतमा मन्दिरको निर्माण गरेका थिए ।
