रामेछाप । गाउँपालिकाबाट हराएको झण्डै ३ बर्ष पछि खाँडादेवि गाउँपालिकाको खानेपानी ट्याङकर साविककै स्वरुपमा गाउँपालिका फर्किएको छ ।गाउँपालिकाले पानीको अभाव भोग्दै आएका नागरिकलाई सुनकोशी र तामाकोशीको पानी बोकेर सेवा दिने उद्देश्यले खरिद गरेको उक्त ट्याङकर गाउँमा खानेपानीको धारा झरेपछि काम विहिन बनेको थियो ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट ज्ञानकुमार श्रेष्ठ गाउँपालिकामा अध्यक्ष निर्वाचित भएर आएपछि उनले काम विहिन अवस्थामा रहेको ट्याङकरलाई घुम्ती अस्पतालको रुपमा विकास गर्ने सोच अघी बढाए । उक्त सोच कार्यान्वयनका लागि उनले आफन्त नाता पर्ने एकजनाको जिम्मा लगाएर चालकलाई ट्याङकर ग्यारेज लैजान आदेश दिएको गाउँपालिकाका कर्मचारीको दावि थियो । तर उक्त गाडिको स्वरुप परिवर्तनका लागि गाउँपालिकाको बैठकको निर्णय र रकम खर्च गर्ने अधिकार भएको प्रमुख प्रशासकिय अधिकृत लगाएत कसै संग सरसल्लाह गरेनन् । ट्याङकर ग्यारेज पुग्यो ।
भक्तपुरको राधे राधे स्थित एउटा ग्यारेजमा पुगेको पानी ट्याङकरबाट ट्यांकी निकालेर आल्मुनियमको पाता ठोकेर बडी निर्माण हुन थाल्यो । तर उक्त कार्य भनेको बेलामा भएन । यता गाउँमा भने ट्याङकर हराएको कुरा गाईगुई चल्न थाल्यो । समय वित्दै जादा दुई महिना अघी यो विषयले चर्को रुप लियो । गाउँपालिकाका केहि राजनीतिक नेतृत्व सहितका सचेत व्यक्तिहरुले पालिकाको सम्पत्ति ट्याङकर हराएको भन्दै विभिन्न स्थानका ग्यारेज चाहार्ने, ट्याङकरको साविकमा काम गर्ने चालकलाई सोधपुछ गर्ने लगाएतको काम गरे । त्यहि क्रममा झण्डै ३ बर्ष पछि भक्तपुरको राधेराधेको एउटा ग्यारेजमा झारमा झण्डै छोपिएको अवस्थामा ट्यांकी र स्वरुप बदल्दै गरेको तर अधुरो अवस्थामा गाडि फेला पारेको फोटो र भिडियो सार्वजनिक भयो ।
गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उक्त ट्याङकरलाई कसले र किन पठाइएको जानकारी आफुलाई नभएको भिडियो सन्देश सार्वजनिक गरे । तर तत्कालिन प्रमुख प्रशासकिय अधिकृत नारायण लामिछानेले पालिका अध्यक्ष श्रेष्ठकै आदेशमा ट्याङकर गाउँपालिकाबाट उठाएर लगिएको दावि गरे ।
यसैविच ग्यारेजले पानी जम्मा गर्ने ट्यांकी झिकेर स्वरुप बदलिसकेको ट्याङकर फेरी साविककै अवस्थामा जोडिदियो , त्यसो गर्नका लागि कसले आदेश दियो ? स्थानीयले मेसो पाउन सकेका छैनन् । ट्यांकी जोडिएको गाडि अहिले गाउँपालिका फर्किएको छ ।
यतिका बर्ष हराएको गाउँपालिकाको सम्पत्ति आफ्नै पालिकामा भित्रीएकोमा स्थानीय खुसी छन् । तर ट्याङकरको स्वरुप बदल्ने कार्यका लागि ग्यारेजले गरेको खर्च कसले बेहोर्ने ? भन्ने कुराको भने अहिले बहस हुन थालेको छ । पालिकाले निर्णय नगरेकोले पालिकाबाट त्यसका लागि बजेट व्यवस्था गरिएको छैन् । अहिले बजेट व्यवस्था गरेर उक्त गाडि मर्मत गरेको भनेर खर्च गरेमा त्यसलाई नस्वीकार्ने खोजि कार्यमा सम्लग्नको भनाई छ ।
