रामेछाप । तीन साता यता परेको खडेरीले मन्थली नगरपालिका आसपास पाखो बारीमा लगाइएको मकै बाली सुक्न थालेको छ । ‘पानी परेको छैन्, मकै सुक्न थाल्यो ’ सालुका कमला खत्री भन्छिन् – यस बर्ष अनिकाल पर्ने भयो ।

सालु, सुनारपानी, मन्थली, भटौली, चिसापानी, कठजोर, भलुवाजोर लगाएतको क्षेत्रमा ३ साता यता पानी परेको छैन् । रामेछाप जिल्लाका अन्य केहि स्थानमा भारी बर्षा भइरहेको समाचार सुनेका किसानले आफ्नो बर्षदिनका लागि खाने अन्नबाली खडेरीले स्वाहा हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘हरेक दिन आकाशको बादल हेर्दैमा वितेको छ, पानी पर्ला कि भन्यो परेन’ सुनारपानीका बाबुराम कार्कीले भने । कार्कीका अनुसार बारीमा मकै अव आधा जस्तो मात्र बांकी छन् । छेउ कुना सुकेर गईसक्यो । पानी नपरेकाले किसानले मकै जोत्न पाएका छैनन् । मकै जोत्दा ( दोहोर्याउदा ) हिउँदे बालीको रुपमा गेडागुडि छर्ने चलन छ । चिस्यान नहुदाँ अहिले डेगागुडी छर्ने अवस्था छैन् ।