रामेछाप । बसन्त ऋतुमा सगरमाथा तर्फ जाने र आउने पर्यटक सकिएपछि रामेछाप देखि लुक्ला र लुक्ला देखि रामेछापका लागि हुदै आएको यो सिजनको उडान बन्द भएको छ ।
सोलुको लुक्ला तर्फ जाने अधिकांश पर्यटकहरुलाई रामेछाप विमानस्थलबाटै त्यस तर्फ लैजाने गरी झण्डै दुई महिना अघी देखि उडानहरु हुदै आएका थिए । सगरमाथा आरोहणमा जाने पर्वतारोहि, गाईड, सरकारी अधिकारी लगाएत खुम्बु क्षेत्रमा घुम्न जाने पर्यटकहरु लुक्ला जाउ आउ गर्दा रामेछाप विमानस्थलमा उडान र अवतरणको चाप थियो ।
गरिक उडड्यन कार्यालय रामेछापका एटिसी रमिल बरिया का अनुसार जेठ १८ गते रामेछाप बाट लुक्लाका लागि अन्तिम उडानहरु भएका थिए । त्यसपछि उडान तालिका छैनन् ।
सगरमाथा आरोहणमा जाने र खुम्बु क्षेत्रमा जानका लागि मे २९ लाई अन्तिम दिन मान्ने गरिएको छ । उक्त दिन सगरमाथामा जाने सवै फर्किसकेका हुन्छन् । ति यात्रुहरुलाई काठमाडौं फर्काईसकिएको छ । केहि बाँकी रहेका यात्रु पनि लुक्ला बाट सिधैं काठमाडौं जाने भएकाले रामेछाप विमानस्थलबाट हुने उडान र अवतरण अर्को सिजन सम्मका लागि रोकिएका हुन् ।
काठमाडौं विमानस्थलमा विमानको उडान र अवतरणको अत्याधिक चाप भएकाले लुक्ला तर्फ उड्न र अवतरण गर्न लामो समय प्रतिक्षा गर्नुपर्ने कारण पर्यटकहरुलाई सेवा दिन विमानकम्पनीहरुले नसकेपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले रामेछाप विमानस्थलबाट लुक्ला केन्द्रीत उडान र अवतरण गराउन थालेको हो । रामेछाप विमानस्थलमा उडानका लागि पालो कुर्नु नपर्ने भएकाले छोटो समयमा धेरै पर्यटकहरुलाई गन्तव्यमा पु¥याउने लक्ष्यका साथ केहि बर्ष देखि अगष्ट–मे र सेक्टेम्बर–अक्टोवर–नोमेम्बर महिनामा लुक्लाका लागि हुने उडानहरु रामेछाप विमानस्थलबाट गर्न लागिएको हो । त्यसका लागि रामेछाप सम्म सडक मार्गबाट यात्रु ओसार्ने गरिएको छ । लुक्लाबाट फर्कने यात्रु पनि सडक मार्ग हुदै काठमाडौं पुग्दै आएका छन् । रामेछाप – काठमाडौं उडान सेवा छैन् ।
काठमाडौं बाट लुक्ला पुग्ने समय भन्दा झण्डै आधा समयमा मात्र लुक्ला पुग्ने हवाई रुट पर्ने भएकाले रामेछापबाट दैनिक सरदर ४० देखि ५० उडानहरु हुने गरेका थिए । निजी क्षेत्रका तारा, सीता र समिट एयरका जहाजहरु रामेछाप विमानस्थलमानै रात्री पार्किङ राखेर विहान उज्यालो हुना साथै यात्रुहरु लुक्लाका लागि ओसार्ने गरिएको छ ।
उडान वन्द भएपछि विमानस्थलमा रहेका विमान कम्पनीका कार्यालयहरु र आसपासका हवाई यात्रु लक्षित होटल व्यवसायहरु समेत बन्द भएका छन् ।
