रामेछापका अन्य पालिकाले हेर्दै लोभलाग्दा आलिसान कार्यालय भवन बाट दैनिक कार्य संचालन गर्दै गर्दा लिखु तामाकोशी गाउँपालिकाको कार्यालयको काम भने भाडामा रहेको सानो भवन बाट संम्पादन हुदै आएको छ । गाउँसभा, धेरै जनाको जमघटमा हुने छलफल अन्तरक्रिया र तालिम भने पालिका नजिकैको माध्यमिक विद्यालयमा गर्ने गरिएको छ ।
कार्यालय भवन निर्माण स्थलको बारेमा आम सहमति नहुदाँ पालिकाले आफ्नो भवन निर्माणका लागि बिनीयोजन गरेको ३ करोड रुपैयाँको प्रयोग समेत गर्न पाएको छैन् । पालिकाको भवन बनाउनका लागि स्थानीयले कालाआहाल भन्ने स्थानमा जग्गा दिएपछि हाल कार्यालय रहेको आसपासका बासिन्दाले उक्त स्थानमा भवन निर्माण गर्न नहुने भन्दै अदालत गुहारेका थिए । उक्त मुद्धा विचाराधिन अवस्थामा रहेको छ ।
धोवि वजार नजिकै कार्यालय संचालन हुदै आएकोले सोहि स्थान आसपासनै पालिकाको प्रशासकिय भवन निर्माण गर्नुपर्ने एकापक्षको माग छ । तर पालिकाका पदाधिकारी तथा अरु केहिले कालाआहाल क्षेत्रको डाडाँमा पालिका भवन निर्माण गर्दा आसपासको क्षेत्रमा रहेको सार्वजनिक जग्गा समेत प्रयोग गर्न पाउने भएकाले खुला र पछि विस्तार गर्न सक्ने दावि गर्दै सोहि स्थानमा भवन निर्माणको लागि जोड दिएका थिए । उक्त स्थानमा साँढे ३ रोपनी जग्गा पालिकाको नाममा प्राप्त भईसकेको वताइएको छ ।
तीन बर्ष देखि बजेट बिनीयोजन गरेर पनि भवन निर्माण प्रकृया अघी बढन नसके पछि यस बर्ष अन्य विकल्प तिर पालिका प्रशासन लागेको छ । हाल बुधबार हाटलाग्ने चौरमा साविक नागदह गाविसको नाममा रहेको जग्गामा सभाहल निर्माण गर्ने र साविकमा कृषि केन्द्रले प्रयोग गर्दै आएको बजार छेउमा रहेको ८ आना जग्गामा एउटा सानो भवन निर्माण गर्ने प्रकृया अघी बढाईएको छ ।
हाल पालिकाको कार्यालय रहेको स्थान बजार सगैं जोडिएको छ । तर आहालडाडाँ चाँहि केहि उत्तरपूर्वमा पर्छ । त्यस डाडाँमा हाल कसैको बसोवास भने छैन् । धोवि वजार नजिकका बासिन्दाले जनघनत्व र सम्पर्कका हिसावले हालकै कार्यालय आसपास भवन निर्माण गर्नुपर्ने कुरा छोडेका छैनन्् । तर उनीहरुले पालिकाको नाममा भवन निर्माण गर्न जग्गा पारित गरेर भने दिएका छैनन् ।
कार्यालय भवन निर्माणका लागि हरेक बर्ष बजेट व्यवस्था गरेको भएपनि अदालतमा विचाराधिन रहेको मुद्धाका कारण प्रमुख प्रशासकिय अधिकृतहरुले ठेक्का आव्हान गर्न आनाकानी गर्दै आएको श्रोतले वताएको छ ।
