रामेछाप । तपाईको धारामा धमिलो र अशुद्ध पानी आउने गरेको छ ? यदि यस्तो छ भने अव चिन्ता लिईरहनु पर्दैन । केहि महिनामानै तपाईको घरमा शुद्धिकरण गरेको निर्मल पानी झर्नेछ । जुन पानी खादाँ कुनै संकोच नमान्दा हुन्छ ।

सरकारले मन्थलीमा वितरण हुने खानेपानी योजनामा पानी शुद्दिकरण गर्ने प्रणालीको विकास गर्न लागेको हो । झण्डै एक बर्ष अघि देखि उक्त योजना निर्माणाधिन अवस्थामा रहेको छ । करोडौं लागतमा निर्माण हुने उक्त योजना सम्पन्न भएपछि अहिलेको जस्तो समस्या मन्थलीका बासिन्दाले भोग्नु पर्दैन् । योजना सम्पन्न गर्न अझै करिव ६ महिना लाग्ने जनाइएको छ ।

संघीय सरकारको ३ करोड ५ लाखको लागत संझौतामा मन्थली १ को बादीचौरमा पानी शुद्दिकरण गर्ने प्रणालीको निर्माण भइरहेको हो । तामाकोशी किनारको ईन्टेकबाट उक्त प्रणालीमा पानी हालेपछि पानीलाई छानेर शुद्दिकरण गर्दै उपभोक्ताको धारामा पठाईने छ । स्वास्थ्यकाे हिसावले पानी वितरण सगै‌ सुद्द पानीलाई महत्व दिने गरीएकाे छ । दुषित पानीले मानव स्वास्थ्यमा गम्भिर समस्याहरु ल्याउने गरेका घटनाहरु बेलाबेलामा सार्बजनिक हुने गरेका छन् । 

मन्थलीका उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गर्नका लागि केहि बर्ष अघी हालको सैनिक गुल्म क्षेत्रमा निर्माण भएको सानो क्षमताको शुद्धिकरण प्रणालीले सवै उपभोक्ताको धारामा पानी पठाउन सकेको थिएन । विभिन्न वितरण केन्द्र मार्फत पानी वितरण गर्नुपर्ने बाध्यता रहेको बेला ठुलो क्षमताको शुद्दिकरण प्रणालीको निर्माण हुन लागेको हो । उक्त योजनामा एक दिनमा झण्डै २२ लाख लिटर पानी शुद्दिकरण गर्न सकिन्छ ।

उक्त योजना निर्माणमा सम्लग्न केएनजे युनाईटेड ब्रदर्श जेभिका ईकवहादुर सिलवालका अनुसार तामाकोशी किनारको ईन्टेकबाट तानेको पानी पहिले एउटा ठुलो ट्यांकीमा खसालिनेछ । उक्त टंकीमा ठुलो फोहोरहरु थिग्रनेछन् । उक्त ट्यांकीबाट निस्केको पानीलाई हाल निर्माणाधिन शुद्दिकरण प्रणालीमा पठाईने छ । ३ वटा शुद्धिकरण प्रणालीमा एकैसाथ झर्ने पानी त्यसभित्र रहने मसिना गिट्टीबालुवाले फिल्टर गरेर बाहिर निकाल्ने छ । पानी फिल्टर ( शुद्दिकरण ) गर्नका लागि बाराको अमलेखजंग देखि ल्याएको बालुवा प्रयोग गरिदैछ । तामाकोशीको वालुवामा टल्कने माईका धेरै हुने भएकोले उक्त वालुवाको प्रयोग गर्न प्राविधिकले दिने गरेका छैनन् । नेपालभरीनै पानी शुद्धिकरणका लागि अमेखगंजको बालुवालाई सिफारीस गर्ने गरिएको छ । हाल उक्त बालुवाको ढुवानी भइरहेको छ ।

मन्थली बजार र आसपासका ग्रामिण वस्तीमा झण्डै १ हजार धारामा खानेपानी वितरण गर्दै आएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीका अनुसार बादीचौरको पानी फिल्टर गर्ने प्रणालीको संचालन भएपछि चुच्चेढुंगा र सालुकेडाडाँको टंया्कीबाट समेत शुद्दिकरण गरेको पानी वितरण हुनेछ । हाल उक्त दुवै प्रणालीबाट ईन्टेकको पानी जस्तो आउछ त्यस्तै वितरण गर्ने गरिएको छ । यद्यपि समितिले समय समयमा पानी शुद्दिकरणका लागि ल्बिचिङ पाउडर लगाएतको प्रयोग गर्ने गरेको छ । सुवेदीका अनुसार नेपाली सेनाको गुल्म नजिकको शुद्दिकरण प्रणालीको पनि केहि दिन अघी सफाई गरिएको छ । ‘अव हाम्रा प्राय सवै धारामा शुद्दिकरण गरेको पानी झर्छ ’ सुबेदीले भनेका छन् ।