रामेछाप । दुई बर्ष अघीको बाढीले क्षतविच्छेद बनाएको बिपी राजमार्गको पाँचौं तथा अन्तिम खण्डमा पुननिर्माणका लागि काम थालिएको छ ।
जापान सरकारको सहयोगमा पुननिर्माण हुने काभ्रेकाे पिप्ले देखि बर्खेखोला सम्मको ३ दशमलव २ किलोमिटर खण्डमा जापानी निर्माण व्यवसायी कम्पनी सिमिजु कर्पोरेशनले काम थालेको हो । उक्त खण्डको पुननिर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड रुपैयाँ खर्चने गरि नेपाल सरकार संग संझौता गरेको छ ।
२०८० साल असोजको दोश्रो साता आएको बाढीले बिपी राजमार्गमा पर्ने काभ्रे र सिन्धुली जिल्लामा गरी २७ दशमलव ३ किलोमिटर सडक खण्ड क्षतिग्रस्त पारेको थियो । रोशीखोलाको किनारबाट निर्माण गरिएको उक्त सडकलाई कटान गरी नष्ट पारेपछि सरकारले फेरी सोहि स्थानबाट उच्च प्रविधियुक्त सडक पुननिर्माण गर्ने प्रकृया थालेको थियो ।
सडक विभागका अनुसार क्षतिग्रस्त सडक पुननिर्माणका लागि नेपाल सरकारले अरु ४ वटा खण्डमा यसअघीनै ठेक्का लगाएर काम अघी बढाइसकेको थियो । निर्माणको समग्र अवस्था २५ प्रतिशत भन्दा बढी भईसकेको जनाइएको छ ।
विभागका अनुसार सिन्धुलीको गजुलीदह देखि बर्खे खोला सम्मको ५ किलोमिटर खण्ड पुननिर्माणका लागि ५५ करोड, काभ्रेको भकुण्डेबेसी देखि चारसयबेशी सम्मको ११ किलोमिटरका लागि १ अर्व १४ करोड, चारसय बेसी देखि डालाबेंसी सम्मको ९ किलोमिटरका लागि १ अर्व २२ करोड र डालाबेसी देखि पिप्ले सम्मको करिव ३ किलोमिटरका लागि ६८ करोड ८० लाख रुपैयाँको लागतमा सडकको पुननिर्माणका लागि विभिन्न निर्माण व्यवसायीहरु संग संझौता भएको छ । संझौता बमोजिम राजमार्ग डबल लेनको हुने, रोशीको कटान हुन सक्ने जोखिमयुक्त स्थानमा पाईल ढलान गरी पूर्वाधार निर्माण गर्ने, पुल कल्वर्ट लगाएतका संरचना समावेश रहेका छन् ।
राजमार्गमा पुननिर्माणका लागि हाल रोशीको खोलाबाट सवारी आवागमन गराई पूर्ण रुपमा निर्माण कार्य सूचारु अवस्थामा रहेको र बर्षा अगावै राजमार्गबाटै अस्थायी रुपमा भएपनि सवारी साधन संचालन गराउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय काभ्रेले जनाएको छ । बर्षामा रोशीको बाढीका कारण यातायात साधन संचालन गर्न अस्थायी रुपमा संचालनमा रहेको डाईभर्सनबाट संभव नभएकोले केहि अवधि निर्माणको काम रोकेर भएपनि साविककै सडक बाट यातायात संचालन हुने गरी उक्त डिभिजनले व्यवस्था मिलाउने भएको हो ।
