रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाको २१ औं बार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभाको प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरी बुढाथोकीले उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा बुढाथोकीले पत्रकारीता क्षेत्रले भोग्नु परेको समस्याका बारेमा जानकारी भएको भन्दै त्यसलाई सहजिकरण गर्नका लागि आफ्नो भूमिका रहने वताए । उनले जिल्लाको विकास, सुशासन र सम्बृद्धिका लागि पत्रकारहरुको उल्लेख्य भूमिका हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधि र समाजले पत्रकारहरु संग धेरै कुरामा अपेक्षा गर्ने गरेको र पत्रकारहरुले जनप्रतिनिधिहरुलाई झक्झक्याउने काम गर्न र निगरानीमा राख्न भूमिका रहनु पर्ने वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना खड्का कार्की, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, दोरम्बा शैलुंग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलाेकान्छा तामाङ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक लगाएतका बक्ताले बर्तमान सन्दर्भमा पत्रकारीता क्षेत्रले गर्नुपर्ने कर्तव्य र भूमिकाका बारेमा आफ्ना धारणा राखेका थिए । बार्षिक साधारण सभामा महासंघको आर्थिक तथा सांगठनिक प्रतिवेदनहरु पारित गरिएको थियो ।