रामेछाप । पर्यटन र महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य कलम चलाउने रामेछापका दुई जना पत्रकार नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ रामेछापको २१ औं बार्षिक साधारण सभाको अवसरमा शनिबार मन्थलीमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कार सहित सम्मानित गरिएको हो ।

पर्यटन प्रबद्र्धनको क्षेत्रमा कलम चलाउने जिल्लामा रहेका संचारकर्मी मध्ये उत्कृष्ट ठहर गरि पत्रकार हिमाल ढुंगेललाई दलवहादुर कार्की स्मृति पत्रकारीता पुरस्कार २०८३ प्रदान गरिएको हो । नगद १० हजार सहित सम्मान पत्रले ढुंगेल सम्मानित भएका हुन् । उक्त पुरस्कार खाँडादेवि गाउँपालिका ६ माकादुम निवासी नारायण कार्कीले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् ।

कार्यक्रममा शान्ताकुमारी ढुंगेल स्मृति पत्रकारीता पुरस्कार २०८३ बाट पत्रकार सुमित श्रेष्ठ पुरस्कृत भएका छन् । नगद ५ हजार सहित सम्मान पत्रले श्रेष्ठलाई सम्मानित गरिएको हो । उक्त पुरस्कार पत्रकार रमेश ढुंगेलले स्वर्गीय माताको सम्झनामा स्थापना गरेका हुन् ।

दुवै पुरस्कार वितरणका लागि महासंघ जिल्ला शाखाले मूल्यांकन समिति बनाएको थियो । दुवै पुरस्कार पहिलो पटक वितरण गरिएको हो । पुरस्कृत पत्रकारहरुलाई प्रतिनिधिसभाका अर्थ समितिका सभापति डाक्टर कृष्णहरी बुढाथाेकीले सम्मान तथा पुरस्कार गरेको महासंघले जनाएको छ ।