रामेछाप । रामेछापको मन्थली नगरपालिका १ का २५ बर्षिय धानुकुमार श्रेष्ठले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।
संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीमा समावेश भएर चैत २६ गते त्यस तर्फ गएका श्रेष्ठले बिहिबार अपरान्ह १ बजे सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला राखेको उनका पिता टंककुमार श्रेष्ठले वताएका छन् । शुक्रबार साँझ टेलिफोनमा कुरा गर्दै श्रेष्ठले भने – २ सय ७४ जना आरोही एकै दिन सगरमाथा पुगकै बेला मेरो छोराले पनि सगरमाथा आरोहण गरेको खवर पाएको छु । श्रेष्ठ शुक्रबार राति दोश्रो शिविरमा ओर्लेर परिवार संग सम्पर्कमा आएका र सगरमाथा चुचुरोमा पुगेको तस्विर पठाएका थिए । उनी शनिबार बेस क्याम्पमा झर्ने वुझिएको छ ।
पर्यटन विषयमानै स्नातक गरेका श्रेष्ठले गत बर्ष पनि सगरमाथाको आरोहण गर्ने प्रयास गरेका थिए । तर तेश्रो शिविरमा पुगेर उनले आरोहण अभियान त्यागेर फर्केका थिए ।
सानै देखि पर्यटनमा रुचि भएका श्रेष्ठले सोलुकै लुवुचे हिमालको तीन पटक आरोह गरेका छन् । सन् २०२४ देखि हरेक बर्ष उनले लुबुचेको आरोहण गरेका थिए । गत बर्ष युरोपको सर्बोच्च शिखर माउण्ट एलब्रसको पनि उनले सफलतापूर्वक आरोहण गरेका थिए ।
मन्थली नगरपालिका वडा नम्बर १ मा सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला राख्ने संभवत धानु पहिलो आरोही हुन् ।
