रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा बिहिबार नाप तौल सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।  अन्तरक्रिया कार्यक्रममा नापतौलका साधनको परिक्षण, प्रमाणपत्र, नविकरण, कानुनी व्यवस्था लगाएतको पक्षमा सरोकारवाला विच छलफल भएको थियो । 

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिलकुमार यादवले नाप तौल सम्बन्धि विविध विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठले बाह्य जिल्लामा रहेको कार्यालयबाट स्थानीय स्तरमै पुगेर सेवा प्रवाह र नाप तौल सम्बन्धि जानकारी प्राप्त भएकाले कार्यक्रमलाई उपलव्धिको रुपमा लिएको वताए । कार्यक्रममा सुनापति गाउँपालिका ३ नम्बर वडाका वडा अध्यक्ष कुलवहादुर थिङले समेत आफ्नो धारणा राखेका थिए । 

रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष आकाश रिजालले उद्योगी व्यवसायीले प्रयोगमा ल्याएका नापतौलका साधनहरुको समय समयमा परिक्षण तथा नविकरण नगर्दा स्थानीय तह र सम्बन्धित अन्य कार्यालयले अनुगमन गर्दा कानुनी कारवाहिमा पर्ने र नगर्दा पनि उपभोक्ता ठगिन सक्ने हुदाँ समयमानै सचेतना दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वताए । 

रामेछाप उद्योग वाणिज्य संघ र सुनापति गाउँपालिकाको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको आयोजनामा भएको उक्त कार्यक्रम संगै सुनापति गाउँपालिकामा विभिन्न पेशा व्यवसाय गर्ने व्यवसायी तथा उद्योगीहरुकोमा चलनचल्तिमा रहेका मिटर लिटर ढक तराजुहरुको परिक्षण गर्नुका साथै दर्ता तथा नविकरण समेत गरिएको थियो । 

यसअघी बुधबार खाँडादेवि गाउँपालिकामा नाप तौल सम्बन्धि अन्तरक्रिया गर्नुका साथै पालिका भित्रका ५० जना व्यवसायीहरुको नाप तौलका सामाग्रीहरुको परिक्षण तथा दर्ता नविकरण गरिएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविनकुमार केसीले वताएका छन । 
 ।