रामेछाप । कुनै बेला पूर्वि रामेछापको मात्र नभै ओखलढुंगाको समेत प्रमुख बजार रहेको साँघुटार अचेल चकमन्न छ । साविकका पुराना तर लोभलाग्दा घरहरु अझै लहरै ठडिएकै छन्, जुन घरहरुमा व्यापारिक सामाग्री र ग्राहक भरिभराउ हुन्थे । अझै त्यस बेलाका बान्की परेका घर त बाँकीनै छन् तर ति घरहरुमा सामान त्यतिसारो छ्र्रैन् । ग्राहकहरु पनि फाट्टफुट्ट आउछन् । व्यापार व्यवसायमा हुनुसम्म मन्दि छ ।
२०५९ साल तिर सडक पूर्वाधार बन्ने क्रम सगैं साँघुटारको व्यवसायमा मन्दि सुरु भएको हो । सडकले आवत जावत र ढुवानीमा सहजता त ल्यायो तर साँघुटार बासिन्दाको व्यापार व्यवसाय पनि सडक सगसगैं पूर्वि बजारतिर धकेलिदै गयो । २०६३ तिर साँघुटारमा पुल निर्माण भएपछि गाडी मात्र ओखलढुंगा तरेनन् , व्यापार व्यवसाय र चहलपहल पनि सगसगैं उतै गयो । साँघुटारमा बसेन ।

साँघुटारमा झण्डै १ सय घरहरु छन् । प्राय धेरै घरका दैलो दिनभरी बन्द रहन्छन् । थोरै पसलहरुका दैलो खुल्छन् । दिनभरी कुर्दा अलिअलि व्यापार हुन्छ । बजारको छेउ बाट ओखलढुंगा तिर जाने सडक गएकाले मुख्य बजार अलि ओझेलमा परेको छ । स्थानीय अनि आसपासका बासिन्दाले आफ्ना लागि चाहिने सामान किन्ने बाहेक डोकोमा , खच्चरमा र पछिपछि ट्याक्टरमा लोड गरेर गाउँगाउँ सम्म सामान पढाउने साँघुटारका व्यवासायीहरु अचेल विगतका ति दिनलाई सम्झनाको रुपमा मात्र लिने गर्छन् । ‘ख्यै व्यापार केहि छैन्’ साँघुटारका प्रमुख व्यवसायी बद्रीदाश भौकाजि भन्छन् – व्यापारका कारण भनेको बेलामा खान र सुत्न समेत पाईदैनथ्यो, अहिले व्यापार हैन, सुतेर मात्र दिन काटिएको छ । कति व्यापार हुन्थ्यो होला तपाईनै भन्नुस न । व्यापार मात्र हैन, विरामी पर्दा पनि औषधिमुलो गर्ने थलो साँघुटारनै थियो । टाढाटाढाका विरामी उपचारका लागि डोकोमा बोकिएर साँघुटार आईपुग्थे । मर्दा कात्रो र विरामी पर्दा औषधि आसपासका धेरै वस्तीहरुमा थिएन्, साँघुटार बाहेक ।
उत्तर तिरको रामेछापको भुजि प्रिति अनि ओखलढुंगाको खिजी चण्डेश्वरी सम्म अनि पूर्व र दक्षिण तिरको आधाजस्तो ओखलढुंगेलीहरु सामान किन्नका लागि साँघुटार आईपुग्थे । साँघुटारमा आईपुगेपछि नपाउने चिज पनि केहि थिएन । दैनिक उपभोग्य वस्तु देखि कपडा लगाएतका सामान किन्न अन्तका वजार धाईरहनु पर्दैनथ्यो । भौकाजि भन्छन् – बनेपा र सिन्धुली तिर बाट हप्तौ लगाएर मानिसको थाप्लामा बोकाएर ल्याएको सामानले गाउँलेको आवश्यकता धानेका थियौं ।
साँघुटार पूर्व तर्फ जाने प्रमुख नाका भएकाले अन्यत्रबाट आएका व्यवसायीले लिखु किनारको सानो जग्गामा व्यवसाय थालेका थिए । एकपछि अर्को गर्दै व्यवसायी थपिए । राम्रो व्यवसाय हुन थालेपछि उनीहरुले घरजम, खेतिकिसानी पनि साँघुटारमै गरे । अहिले व्यापार कम भएपनि उनीहरुले साँघुटारलाई माया मार्न सकेका छ्रैनन् । स्थानीय समाजसेवि होतराज ढकाल भन्छन् – अहिले व्यवसायै गरेर धानिने परिवार ४÷५ वटा भन्दा धेरै छैनन् । व्यवसाय घटेपछि पनि उनीहरुले साँघुटार नछोड्ने कारण चाँहि खेतिपाति हो । धेरैले अहिले आफ्नो खेति गरेर समय कटाउने र दैनिक गुजारा चलाएका छन् ।

भोजपुर, खोटाङ सम्मका नागरिक काठमाडौं आउजाउ गर्ने नाका साँघुटारमा बाटो हिड्नेलेनै मनग्ये किनमेल गर्थे । त्यसमाथि साँघुटारमा माध्यमिक विद्यालय खुलेपछि आसपासका विद्यार्थी ठुलो सख्यामा कोठा लिएर पढने गर्थे । विद्यार्थी र अविभावकका लागि पनि वजारले थेग्नुपर्ने थियो ।
अहिले सनिबार एक दिन साँघुटारमा साप्ताहिक हाट बजार लाग्छ । उक्त हाट बजारमा स्थानीय उत्पादनहरु तरकारी, फलफुल लगाएतका सामान पाईन्छ । तराईका व्यवसायीले ल्याउने कपडा देखि खाद्यान्न समेत हाटमा राखिन्छन् । ‘त्यहि शनिबारको दिन हो अलि चहलपहल र व्यापार हुने ’ साँघुटारको पुल नजिकै सगरमाथा होटल संचालन गर्दै आएकी चण्डिका श्रेष्ठ भन्छिन् – हाट लाग्ने दिनको कमाईले हप्ता धान्नु पर्छ ।

प्रमुख बजार साँघुटारमा आएको व्यवसायिक मन्दि प्रति रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेश उदासले चिन्ता प्रकट गरे । उनले स्थानीयलाई अव व्यापार भन्दा पनि उद्योग प्रबद्र्धनका लागि लगानी गर्न सक्नुपर्ने सुझाव दिए । उद्योगका लागि सवै पूर्वाधार भएको र लिखु करिडोरले तराईतर्फको पहुँचलाई नजिक्याएकोले पनि साँघुटारमा साना तथा मझौला उद्योगहरुको संचालन गर्न सकिनेमा उनले जोड दिए ।
