रामेछाप । विद्यार्थीको आकर्षण नभएपछि रामेछाप बहुप्राविधिक शिक्षालयमा संचालन हुदै आएको फुड एण्ड डेरी विषयमा नयाँ विद्यार्थी भर्ना लिन बन्द गरेको छ ।
शिक्षालयले चालु शैक्षिक सत्रका लागि उक्त विषयमा विद्यार्थी भर्ना नलिने भएको हो । विद्यार्थी संख्यामा गत बर्ष देखिनै उक्त विषयमा आकर्षण देखिएको थिएन । गत बर्ष पनि यहाँ भर्ना भएका भन्दा पनि बाहिर बाट स्थानान्तरण गरेर आएका विद्यार्थीहरुलाई अध्यापन गराएका थियौं शिक्षालयकी एक कर्मचारीले भनिन् – यो बर्षदेखि नयाँ कक्षानै संचालन नहुने भएको छ । शिक्षालयले भर्ना भएर अध्ययन गरिरहेका उक्त विषयका विद्यार्थीको पठन पाठन भने संचालन गर्नेछ ।
२०७४ सालमा स्थापना गरिएको उक्त शिक्षालयले कृषि र पशु विज्ञान विषयमा भने भर्ना खोलेको छ । पहिले कोटा भन्दा धेरै आवेदन पर्ने गरेको थियो । तर केहि बर्ष देखि उक्त विषयमा समेत विद्यार्थीको आकर्षण देखिएको छैन् । स्थानीय सरकारको पूर्ण छात्रवृति हुदाँ पनि विद्यार्थीहरु अन्य विषयमा अध्ययन गर्न शहर तिर जाने क्रम रोकिएको छैन् । शिक्षालयले भर्ना अभियानका लागि गाउँ गाउँमा पुगेर अन्तरक्रिया गर्ने, जनप्रतिनिधिहरु मार्फत सूचना सम्प्रेषण गर्ने लगाएतको कार्य गर्दै आएको छ ।
