रामेछाप- मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षामा जोड दिँदै नयाँ विषय र संकाय थप्ने तयारी अघि बढाएको जनाएको छ । समय र प्रविधिको मागअनुसार शिक्षण प्रणालीलाई आधुनिकीकरण गर्दै जिल्लामै गुणस्तरीय तथा सीपमूलक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित क्याम्पसले विभिन्न योजना अघि सारेको हो ।
क्याम्पस प्रमुख डा. भरतकुमार श्रेष्ठका अनुसार शिक्षण–सिकाइ प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ । “पहिले केही कक्षामा मात्र प्रोजेक्टर प्रयोग हुन्थ्यो, अहिले विस्तारै प्रत्येक कक्षामा स्मार्ट बोर्ड प्रयोग गर्ने प्रयास भइरहेको छ,” उनले भने । विद्यार्थीलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै प्रभावकारी पठनपाठन सञ्चालन भइरहेको उनले बताए ।
उनका अनुसार विगतमा ब्ल्याकबोर्डमा आधारित शिक्षण प्रणाली प्रचलनमा रहे पनि अहिले समयअनुसार शिक्षण शैली परिवर्तन गर्नुपर्ने आवश्यकता बढेको छ । “अहिलेको पुस्तालाई प्रभावकारी रूपमा पढाउन प्रविधिमैत्री शिक्षण अपरिहार्य भइसकेको छ,” उनले भने । क्याम्पसले शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
हाल क्याम्पसमा स्नातक तहमा बीए, बीएड र बीबीएस तथा स्नातकोत्तर तहमा नेपाली र एमएड कार्यक्रम सञ्चालनमा छन् । क्याम्पसमा हाल ५६४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीको नियमित उपस्थितिमा कमी आउन थालेपछि क्याम्पसले त्रिभुवन विश्वविद्यालय समक्ष नयाँ विषय तथा संकाय सञ्चालनको प्रस्ताव पेश गरेको जनाएको छ । प्रस्तावित विषयमा मानविकी तथा समाजशास्त्रअन्तर्गत रुरल डेभलपमेन्ट, समाजशास्त्र र राजनीतिक शास्त्र रहेका छन् । त्यस्तै शिक्षा संकायमा इङ्लिस र हेल्थ एजुकेशन तथा व्यवस्थापन संकायमा एमबीएस कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाइएको छ ।
जिल्लाभित्रै उच्च शिक्षाका अवसर विस्तार गर्न सके विद्यार्थीको बाहिरिने क्रम घट्ने विश्वास क्याम्पस प्रशासनको छ । क्याम्पसले सैद्धान्तिक शिक्षासँगै सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षक सेवा आयोग तथा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिरहेको जनाएको छ । व्यवस्थापन संकायका विद्यार्थीलाई बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी इन्टर्नसिपको अवसरसमेत उपलब्ध गराइएको छ ।
सूचना प्रविधिको महत्वलाई ध्यानमा राख्दै क्याम्पसले कम्प्युटर ल्याब सञ्चालन गर्नुका साथै स्नातक तहका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिमसमेत प्रदान गर्दै आएको जनाएको छ । यसले आगामी दिनमा विद्यार्थी सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
क्याम्पस रामेछाप जिल्लामै पहिलोपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्ने क्याम्पस बनेको छ । हाल दोस्रो चरणको नवीकरण प्रक्रियाका लागि एलआईपी पेश गरिसकिएको क्याम्पसले जनाएको छ ।
क्याम्पसका पूर्व प्रमुख डा. टंकप्रसाद दाहाल ले पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै गए पनि शिक्षाको गुणस्तरमा कुनै कमी आउन नदिने बताए । “हामीले यहाँ नै राम्रो सुविधा दिइरहेका छौँ,” उनले भने, “विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर दिने गरी कार्यक्रम अघि बढाइएको छ ।”
उनका अनुसार व्यवस्थापन संकायका विद्यार्थीलाई मन्थलीस्थित बैंक तथा वित्तीय संस्था, सहकारी तथा विभिन्न कार्यालयमा ‘अन द जब ट्रेनिङ’ को व्यवस्था गरिएको छ । त्यस्तै शिक्षा संकायका विद्यार्थीलाई बिहान अध्ययन र दिउँसो नजिकका विद्यालयमा अध्यापन गर्न सक्ने वातावरण बनाइएको उनले बताए ।
क्याम्पस सञ्चालक समितिका सदस्य नवीन घिमिरे ले क्याम्पसलाई जिल्लाकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, गुणस्तरीय पठनपाठन तथा नयाँ संकाय विस्तारमा काम भइरहेको बताए ।
उनकाअनुसार पुस्तकालय व्यवस्थापन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थी र कर्मचारीको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइएको छ । विद्यार्थीलाई आकर्षित गर्न गुणस्तरीय शिक्षासँगै सहभागितामूलक वातावरण सिर्जना गर्ने प्रयास भइरहेको उनले बताए
