रामेछाप– नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशका कार्यकारिणी सदस्य जयप्रकाश श्रेष्ठ ले व्यवसायीहरूको हकहित संरक्षणका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले होटल तथा पर्यटन क्षेत्र जिल्लाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायीमैत्री नीति निर्माणमा सबै तहका निकाय गम्भीर हुनुपर्ने बताए । उनले प्रदेश स्तरबाट आवश्यक नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउने योजनामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको तर्फबाट आफूले पहल गर्ने साथै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन, सेवा गुणस्तर अभिवृद्धि र निजी क्षेत्रको मनोबल उच्च बनाउन राज्यले व्यवसायीहरूको आवाज सुन्नुपर्ने आवश्यकता रहेको बताए ।
यसैबीच, साधारण सभाको अवसरमा रामेछाप उद्योग वाणिज्य संघ का नवनिर्वाचित पदाधिकारीहरूलाई होटल तथा पर्यटन व्यवसायी सङ्घले स्वागत समेत गरेको थियो । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ ले स्वागत कार्यक्रम आयोजना गर्दै नयाँ नेतृत्वसँग सहकार्य गरी जिल्लाको पर्यटन तथा उद्योग क्षेत्रलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा उद्योग तथा पर्यटन क्षेत्रको विकास, नीति निर्माण तथा व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा आगामी दिनमा पर्यटन क्षेत्रलाई अझ प्रभावकारी बनाउने विभिन्न सुझावहरू समेत प्रस्तुत गरिएको थियो ।
