काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको लेटरप्याड अनधिकृत प्रयोग गरी विज्ञप्ति जारी गरेको भन्दै पार्टीका पूर्व कार्यबाहक सभापति पूर्णवहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीको विषेश महाधिवेशन बाट गगन थापा समूहलाई निर्वाचन आयोगले आधिकारीक समितिको मान्यता दिएको भएपनि साविकको कार्यबाहक सभापतिले यसअघी पनि पार्टीको लेटरप्याड प्रयोग गरी कार्यबाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका थिए । त्यस कार्य प्रति काँग्रेसको अनुसासन समितिले सचेत गराएको थियो ।
बुधबार समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले यस अघीनै खड्कालाई सचेत गराइसकेको अवस्थामा फेरी पनि अनधिकृत कार्य गरेकोले पार्टी विधानको धारा २०१७ ( संशोधन सहित ) को दफा ३४ उपदफा ८ (घ) अनुसार स्पष्टिकरण सोधेको जनाइएको छ । खड्काले चैत ३० गते पनि कार्यबाहक सभापतिकै हैसियतले विज्ञप्ति जारी गरेका थिए ।
नेपाली काँग्रेसको संस्थापन पक्षले विषेश महाधिवेशनलाई बिधान विपरीत भेला भन्दै त्यसबाट निर्वाचित नेतृत्व लाई नस्वीकार्ने जनाउदै आएको छ । गत निर्वाचनमा सभापति गगन थापाको हस्ताक्षरमा वितरण भएको टिकट बाट उम्मेदवारी दिएपनि उनलाई सभापति नमानेको बताउने नेताहरु पछि आयोजित गुटगत भेलामा सहभागिता जनाउन पुगेका थिए ।
समितिले गएको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउनका लागि अनुशासन विपरित कार्य गरेको भए चैत मसान्त सम्म अनुसासन समितिमा उजुरी दिन आव्हान गरेकोमा उक्त समयलाई २०८३ साल बैशाख मसान्त सम्म थप गर्ने निर्णय समेत गरेको छ ।
