रामेछाप । केहि दिन अघी मात्र हिउँले छपक्क छोपेर छोडेको चिसो शैलुङका टाकुराहरुलाई तताउने गरी नयाँ बर्षको दिन मंगलबार आसपासबाट ओईरिएका सयौं सर्वसाधारणले विभिन्न रमाईलो गर्दै दिन विताए ।

त्यसैपनि प्रकृतिको सुन्दर उपहार मानिने जिल्लाकै पहिलो पर्यटिकय क्षेत्र शैलुङमा पुग्न जो कोहिलाई रहर लाग्ने नै भयो , त्यसमाथि नयाँ बर्षको पहिलो दिनमा परिवार र मिल्ने साथिभाईहरु सगैं भएपछि अरु के चाहियो । विहानै खोलाखर्क र कालापानीको बेसक्याम्प बाट उक्लिएका सर्वसाधारणले न भोक थाहा पाए, न चिसो सिरेटोले हानेको याद गरे । नाँचे, घर बाट बनाएर ल्याएको शैलुङमै बनेका केहि परिकार खाए अनि त्यहि सुन्दर धर्तिमा कहिले यता र कहिले उता गर्दै दिन विताए ।

ढ्याङ्ग्रो बजाउदै थुम्काहरुमा पुगेका दर्जनौ झाँक्रीहरुको नाच, दोहोरी गीत अनि विभिन्न भाकामा गित संगितका ताल सुरुमा नाच्नेहरु प्रशस्तै थिए । एक पटक हैन, पटक पटक शैलुङ पुग्दा पनि धित नमर्नेहरु एक पछि अर्को टाकुरामा पुग्दै टिकटक बनाउन सक्रिए थिए । नयाँ र पहिलो पटक पुग्नेले दिनभरी फोटो खिच्ने र भिडियो बनाउदा पनि धित नमरेको प्रतिक्रिया दिएको गौश्वाराका पूर्व वडा सदस्य रोहित मगरले वताए ।

शैलुङ टाकुरामा दोलखा र रामेछाप तर्फबाट पुगेकाले आफन्तजन समेत भेटेर भलाकुसारी गर्ने मौका पाए । घर बाट टाढा पुगेका छोरी चेलीहरु पनि आफन्त संग गफिदै दिन विताउदै थिए । शैलुङको टाकुरामा निर्माण गरिएको भ्यू टावरको छतमा चढेर टाढा टाढा सम्म नियाल्नेहरु कम्ति थिएनन् ।

पश्चिममा गणेश हिमाल देखि लिएर लाक्पादोर्जे, जुगल, गौरीशंकर र नुम्बुर चुलि सम्म सेतै चम्किएका हिमालको लहर हेरुँहेरुँ जस्तै थिए । ‘आज मौसम त्यति खुलेन, कहिले खुल्ने र कहिले वन्द हुने मौसम भएपनि धेरैले हिमाललाई कैद गर्न भ्याए ’ मगर भन्छन् – तर शैलुङ चाँहि दिनभरीनै खुल्यो । अघीपछि फुस्स बादल झर्ने शैलङमा नयाँ बर्षमा पुगेका पाहुनालाई भरपुर मनोरञ्जन दिनेगरी बादलले पनि छोडिदियो ।

टोकरपुरबाट नयाँ बर्षको रमाईलो गर्न शैलुङ उक्किलएका एमाले नेता तुलाप्रसाद कडेलका अनुसार खोलाखर्क र दोलखा तर्फको कालापानीमा दर्जनौ सवारी साधन पार्क गरेर पर्यटकिय सिँढी चढ्दै शैलुङ उक्लिनेहरुले बाटोमा रातै फुलेका गुराँस अनि सेतै चिमालका फुलहरुमा भुलेको चालै पाएनन् । उकालो जादा थाक्ने भन्दा पनि गुराँस र चिमाल तिर आँखा भुलाउदा थकाईको चालै ख्याल नगर्ने धेरै थिए ।

पश्चिमी रामेछापको सवैभन्दा उच्च ३ हजार १ सय ४७ मिटर अग्लो चुचुरोमा आन्तरिक पर्यटकहरु ओईरीन थालेको केहि बर्ष वितेका छन् । पर्यटक लक्षित पूर्वाधारहरुको निर्माण थालिए पनि अझै धेरै पूर्वाधारहरुको अभाव छ । खानेपानी र सौचालयको उचित र प्रयाप्त प्रबन्ध अझै पुगेको छैन् । शैलुङ पुग्नेले रोजेको खानेकुरा पाउदैनन् । काठमाडौं उपत्यका , काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली लगाएतका जिल्लाबाट पर्यटकहरु मनोमहक शैलुङ आईपुगेका थिए ।

यता नयाँ बर्षमा पूर्वको स्वर्ग भनिने ताँमेडाडाँमा पनि मंगलबार धेरै सर्वसाधारणले रमाइलो उत्सव बनाएर नयाँ बर्षको स्वागत गरे । रामेछाप र दोलखा तर्फका सयौं सर्वसाधारण तामेको क्षेत्रमा पुगेका थिए । गुराँस र चिमालको जंगलले विचमा भूस्वर्ग मानिने ताँमेडाडामा केहि बर्ष देखि नयाँ बर्षमा सर्वसाधारणको घुँईचो लाग्ने गरेको छ ।

यसैविच रामेछापका विभिन्न स्थानमा नयाँ बर्षका लागि परिवार सहित पुग्ने प्रशस्तै देखिए । मन्थली नगरपालिकाको स्थानापति महादेवस्थान, भोटनाघीको चियाबगान, वितिटारको पार्क, भालुखोप, खाँडादेवि मन्दिरमा पुग्नेहरु प्रशस्तै भए ।

नयाँ बर्षको दिन बाट शुरु भएको तामाकोशीमा राफ्टिङको मजा लिन पनि धेरै झुम्मिएका थिए । क्यानोईङ र जेटवोटको आनन्द लिने पनि मंगलबार उल्लेख्य देखिए । कालिञ्चोक, जिरी र हलेसी सम्म पुग्नेहरु पनि प्रशस्तै थिए ।

 तस्विर – तुलप्रसाद कँडेल ।