रामेछाप । योजना विना सरकारको करोडौ रुपैयाँ खर्चेर बनाएका खानेपानीका ट्याङ्की पानी नहाल्दै चर्किएर क्षति हुन थालेका छन् । पानी नहाल्दै चुहिने अवस्थामा पुगेका ट्याङ्की हरु जिल्लामा दर्जनौ छन् । पानी विना चर्केका त्यस्ता संरचनाहरु मर्मत गरेर पानी जम्मा गर्न सकिदैन् । पुरै नयाँ निर्माण गर्नुपर्छ । 

निर्माण गरेको ३ बर्ष वितिसक्दा पनि पानी नहालेका दर्जनौं खानेपानीका ट्याङ्की रहेका छन् । फेरो सिमेन्टका त्यस्ता टंकीहरु पानी नहाल्दा चर्किने र फुट्न थालेका हुन् ।

सरकारले खानेपानी योजना स्वीकृत गरेपछि कनिका झै दिने रकमले जुन सजिलो काम हुन्छ त्यसैमा लगानी गर्ने गरिएकोले योजनाको संरचना भन्दा अघी ट्याङ्की निर्माण गर्ने गरिएको छ । खानेपानी योजनाका लागि आवश्यक पर्ने पाईप लगाएतका बजार बाट खरिद गर्नुपर्ने पार्टस्हरु र टंकी निर्माणका लागि योजना संचालन गर्ने निकायलेनै खर्च गर्ने गर्छ । त्यसैले त्यस्ता संरचनामा उपभोक्ताको भन्दा पनि सरकारी अधिकारीहरुको स्वार्थ हुने गरेको छ ।

मन्थली बाट सुनारपानी हुदै सालु तर्फ लैजाने गरी सुरु गरिएको खानेपानी योजनाका दर्जनौं ट्याङ्कीहरु चुहिने अवस्थामा पुगेका छन् । जहा ३ बर्ष देखि पानी परेको छैन् । त्यस्तै भलुवाजोरका लागि एक दशक अघी संचालन हुन थालेको ईन्छिनडाडाँ खानेपानी योजनाका लागि विभिन्न स्थानमा निर्माण भएका ट्याङ्की समेत चर्किएका छन् ।

मन्थली १ को दाहालगाउँमा पनि विना योजनाको ट्याङ्की निर्माण गरिएको दुई बर्ष वितिसकेको छ । उक्त योजनाको मुल दर्ता नभई पहिले ट्याङ्की बनेको हो । स्थानीय नारायणदाश श्रेष्ठका अनुसार मुहान बल्ल यो बर्ष दर्ता भएको छ । हतारमा योजनाको अरु कामै नगरी ट्याङ्की निर्माण गर्दा करोडौंका त्यता संरचनाहरु पानी नहाल्दै क्षति हुने अवस्थामा पुग्नुलाई सर्वसाधारणले चरम लापरवाहिको रुपमा लिने गरेका छन् ।