रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी मंसिर भित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य पछ्याउदै विभिन्न गतिविधिहरु संचालन गरेको छ ।

गाउँपालिकामा उक्त कार्यका लागि आवश्यक अभिमुखिकरण र पूर्वाधार निर्माणका चरणहरु धमाधम भइरहेका छन् । बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने सूचकहरुका बारेमा विषयगत अभिमुखीकरणहरु धमाधम भएको बिहिबार वडा नम्बर ४ बेथानमा आयोजित भेलामा जानकारी गराइएको थियो ।

गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणाका लागि खेलमैदान, विद्यालयमा घेराबेरा, सार्वजनिक सौचालय, खानेपानी लगाएतका केहि पूर्वाधारको कमी भएकाले उक्त पूर्वाधारको निर्माण यथासक्य चाडो सक्न जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमवहादुर थापाले निर्देशन दिएका छन् । अन्य सूचकहरु पुरा भएको पाइएपनि पूर्वाधारमा कमी रहेको उनले औल्याए ।

गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले सवै सूचकहरु पुरा गरेर आगामी मंसिर भित्र पालिकालार्य बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएकी छिन् । उक्त कार्यका लागि कार्तिक मसान्त भित्र गाउँपालिकाका सबै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने लक्ष्य रहेको छ ।