रामेछाप । रामेछाप जिल्लालाई राजधानी सँग जोड्ने लाईफलाईनको रुपमा रहेको बिपी राजमार्गमा यस बर्षायाममा यात्रुहरुले सुरक्षित यात्रा गर्ने अवसर नपाउने भएका छन् ।
सरकारले अस्थायी रुपमा डाईभर्सन निर्माण गरी हिउँदभर यातायात संचालन गरेपनि बर्षा लाग्नु अगावै बिपी राजमार्गको यात्रा भरपर्दो र सुरक्षित हुन छाडेको छ । चैत महिनामानै केहि पटक बिपी राजमार्ग अवरोध भईसकेको छ । रोशी खोलामा आएको बाढीले अस्थायी डाईभर्सन बगाउदा केहि दिन यातायात अवरुद्ध भएको र पुननिर्माण पछि संचालनमा आएको छ । तर पानी पर्ना साथ प्रहरीले बिच बिचमा यातायातका साधनलाई रोक्ने गरेको छ । सिन्धुलीको नेपालथोक र काभ्रे भन्ज्यांगमा यातायातका साधन रोकेर बाढीको अवस्था सामान्य भएपछि मात्र यात्रा गर्न दिने गरेको प्रहरीले जनाएको छ ।

रोशी खोलाको बाढी थाहा नदिई आउने भएकाले विचमा गुडिरहेका साधन र यात्रुलाई क्षति हुन नदिन प्रहरीले उक्त कदम चालेको प्रहरी चौकी काभ्रेभन्ज्यांगका प्रहरी सहायक निरीषक रामेश्वर पाण्डेले वताएका छन् । थाहै नदिई बाढी आउदाको अवस्थामा बाहेक प्रहरीको उक्त कार्यले धेरैलाई सुरक्षित पार्न सक्ने उनको धारणा छ ।
तर विचमा घण्टौं रोकिनु पर्ने र यात्रा गर्दा पनि कतिबेर खोला आउला कि भन्ने पिरलोले राजमार्गमा यात्रा गर्नेहरु सधै प्रताडित हुने गरेका छन् । रामेछाप बाट काठमाडौंका लागि जादै गरेका यात्रु प्रल्हाद खत्रीले विपी राजमार्गको रोशी खोला खण्ड नकट्दा सम्म उच्च जोखिमको महसुस हुने वताए । ‘कतिबेला खोला आउने हो भन्ने चिन्ताले यात्रा अवधिभर सताउने गर्छ ’ उनले भने – सरकारले तत्काल अर्को विकल्प नदिए बर्षायाममा विपी राजमार्ग बन्दै गर्नुपर्ने देख्छु ।

२०८१ असोजको बाढीले राजमार्गको करिव २९ किलोमिटर खण्ड लाई ध्वस्त बनाएपछि सरकारले उक्त सडकको पुननिर्माण थालेको छ । तर पुननिर्माण कार्य अझै पनि आधा भएको छैन् । केहि महिना अघी देखि थालिएको साविकको राजमार्गबाट सवारी साधन संचालन गर्न सम्भव छैन् । कतिपय स्थानमा कच्ची ट्याक खुलेको भएपनि कतिपय स्थानमा सिमेन्टका पक्कि पूर्वाधारको काम थालिएकोले उक्त कार्य पुरा नहुदाँ सम्म साविकको सडकमा यात्रा संभव नभएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । उक्त कार्यालयका अनुसार संभव भएको स्थानमा साविकको सडकबाट र असंभव हुने स्थानमा डाईभर्सन बनाएर बर्षायाममा सवारी संचालन गर्ने योजना रहेको छ ।
सरकारले अस्थायी रुपमा यातायात संचालन गर्ने योजना बनाएपनि पटक पटक सडक अवरोध हुने र घण्टौ सम्म यात्रा रोकिने भएकाले उक्त राजमार्गमा बर्षायाममा यात्रा गर्नु भन्दा नगर्नुनै राम्रो हुने स्थानीयको भनाई छ । पानी परेको छैन् भनेर गाडि गुड्न दिने तर गाडिले रोशि नछिचल्दै बाढी आउने जोखिम उच्च छ । रोशी खोला पार गर्नका लागि सामान्यतया डेढ घण्टाको समय लाग्छ ।
