रामेछाप । खानीखोला तिर सर्दै गरेको पाखोमा एक बर्ष देखि जोखिम मोलेर बसोवास गर्ने रामेछापको सुनापति गाउँपालिका ३ हिलेदेवि गाउँको साउने र केउरिनी टोलका बासिन्दा सरकारले सुरक्षित स्थानमा बसोवासको बन्दोबस्त नगरेकोमा खिन्न छन् ।

‘बर्षा लागिसक्यो, एकझर पानी आउदा पनि सातो जान्छ ’ स्थानीय बासिन्दाहरु एकै स्वरमा भन्छन् – राज्यले केहि गरेन । स्थानीय सरकारले पनि चासो राखेन । बर्षा अगावै कतै नसार्ने हो भने खानीखोला तिर वग्ने पक्कापक्कि जस्तो अवस्था रहेको स्थानीयको गुनासो छ ।

गत बर्ष देखि साउने र केउरिनी वस्ती घेरेर पहिरो झर्न थालेको हो । कुल ७७ परिवारको वसोवास रहेको उक्त वस्तीका केहि घर गत बर्षनै भत्किए , केहि आज हो कि भोली हो भन्ने अवस्थामा धराप बनेर उभिएका छन्, अनि केहि चिरा परेका छन् ।

जिल्ला विपत व्यवस्थापन समितिले डेढ दर्जन परिवारलाई अस्थायी आवासका लागि भनेर गाउँमै टेण्ट गाडिदिएको छ । तर उक्त अस्थायी आवास भएको स्थान पनि पहिरो सर्दै गरेको क्षेत्रमै हो । घर लडेर थिच्ला भन्ने पिरलो मात्र नभएको हो, बगियो भने त गैहालियो स्थानीय रुद्रमाया श्रेष्ठले वताईन ।

सुनापति गाउँपालिकाले पहिरो प्रभावित हरुका लागि सोहि वडाका विभिन्न ३ स्थान पहिचान गरेको छ । तर उक्त पहिचान गरेको स्थानमा भूगर्वविदको टोलीले हेरेर फर्केको छ । ५ दिन अघी पुगेको प्राविधिक टोलीले सार्नुपर्ने स्थानको बारेमा कुनै टुंगो नदिई फर्केको स्थानीयले वताएका छन् ।

वडा सदस्य टेकवहादुर श्रेष्ठका अनुसार वसोवास नसारे सम्म कुनै राहत या क्षतिपूर्तिले मात्र केउरीनी र साउनेका बासिन्दा बाच्न सक्ने अवस्था छैन् । उनका अनुसार हाल सम्म पुरै घर भत्केर बस्नै नहुने ४ परिवार अन्यत्र सरेका छन् । सरेका मध्ये २ परिवार बेथान गएका छन् भने अरु २ परिवार हिलेदेविकै सुरक्षित स्थानमा सरेको छ । विपद् व्यवस्थापन समितिले गाडिदिएको अस्थायी आवास भन्ने टेण्ट हावाले क्षतविच्छेद वनाएकोले बाँकी जोखिममा रहेका परिवारलाई बर्षामा ओताउने स्थान छैन् । अलिअलि चर्केका र मर्केर लड्न ठिक्क परेका घरमा बसोवास गर्दै आएका दर्जनौ परिवारको पनि आउने बर्षायाममा त्यस्ता घरमा वस्ने अवस्था नरहेको उनले वताए ।

जिल्ला विपत व्यवस्थापन समिति रामेछापले सुनापति ३ को केउरिनी र साउने वस्ती स्थानान्तरणका लागि राष्ट्रिय विपद जोखिम न्यूननिकरण तथा व्यवस्थापन प्राधिकरणलाई पटक पटक आग्रह गरेको छ । केहि दिन अघी प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा वसेको बैठकले उक्त वस्ती वर्षातको समयमा थप जोखिम हुने भएकोले यथासिघ्र वस्ती स्थानान्तरण र अस्थायी आवासको लागि रकम निकाशाको माग गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रामेछापबाट प्रतिनिधित्व गर्ने सांसद डाक्टर कृष्णहरी बुढाथोकीले उक्त वस्ती उच्च जोखिममा रहेकोले तत्काल वस्ती स्थानान्तरण लगाएतको काम गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।