रामेछाप । गृह मन्त्रालयले आर्थिक बर्षको दोश्रो चौमासिकमा मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्यमूल्यांकनमा रामेछापले ११ औं स्थान हासिल गरेको छ । मन्त्रालयले ७७ वटै जिल्लाको मूल्यांकन गरेको हो ।
विभिन्न ५४ वटा सुचकको आधारमा जिल्ला प्रशासन कार्यालयहरुबाट भए गरेका कार्यहरुको गृह मन्त्रालयले मूल्यांकन गरेको थियो । उक्त अवधिमा रामेछापले पुरै सूचकहरुको कार्य प्रगति गरेकोमा मन्त्रालयको मूल्यांकनमा ५३ वटा सूचकको कार्य मूल्यांकनमा परेको थियो । एउटा सूचकको दावि भने मन्त्रालयले अस्विकृत गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयहरुले सम्पादन गर्ने कार्यहरु शान्तिसुरक्षा, विवाद समाधान, विकास निर्माण अनुगमन ठाडो तथा सार्वजनिक मुद्धाको किनारा, प्रकोप व्यवस्थापन तथा राहत एवं क्षतिपूर्ति वितरण, समन्वय जस्ता कृयाकलापहरुमा मूल्यांकन हुने गरेको छ ।
मन्त्रालयले गरेको दोश्रो चौमासिकको कार्य मूल्यांकनमा सबै जिल्ला लाई पछि मार्दै मनाङ जिल्लाले पहिलो स्थान ओगटेको छ । दोश्रोमा नुवाकोट र तेश्रोमा डोटी, पर्वत, रुपन्देही र स्याङ्जा रहेका छन् । २० दशमलव २५ पूर्णाङ्कमा पहिलो हुने मनाङले १९ दशमलव ५ र दोश्रो हुने नुवाकोटले १९ दशमलव ३७५ अंक पाएका थिए । एघारौ स्थानका रामेछाप, धनकुटा, बाग्लुङ, महोत्तरी र ललितपुरले समान १८ दशमलव ७५ अंक प्राप्त गरेका छन् ।
कार्यसम्पादनमा सबैभन्दा पछि काठमाडौं जिल्ला परेको छ । उक्त चौमासिकमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले जम्मा ३ अङ्क प्राप्त गरेको जनाइएको छ ।
