काठमाडौं । शनिबार बिहान पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं प्रहरी परिसरले उनीहरुलाई १० दिन हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला अदालतमा अपिल गरेको थियो ।
जिल्ला न्यायाधीश आनन्दकुमार श्रेष्ठको ईजलासले शिक्षक अस्पतालमा उपचारका लागि राखिएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचार व्यवस्था गर्न पनि आदेश दिएको छ । ओलीले अस्पतालकै शैयाबाट जिल्ला अदालतको ईजलास समक्ष भर्चुअल माध्यमबाट उपस्थिति जनाएका थिए । अस्पतालले उनलाई आधा दर्जन रोग रहेको र सो को उपचारका लागि अस्पतालबाट अन्यत्र लैजान नमिल्ने जनाए पछि भर्चुअल रुपमा अदालतमा उपस्थित गराईएको हो । म्याद थप पछि पनि ओली अस्पतालमानै रहने र पूर्व गृहमन्त्री रमेश लेखकलाई २ नम्बर गणको हिरासतमा राखि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
यसैविच आईतबार विहान सम्पत्ति सुद्धिकरण मुद्धाको अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको पूर्व उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्कालाई समेत अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि आईतबारनै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको छ ।
