रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका ५ जना पूर्व अध्यक्षहरुले भावि अध्यक्षका लागि उम्मेदवार बनेका प्रकाशकुमार श्रेष्ठको पक्षमा मतदान गर्न व्यवसायीहरुलाई अपिल गरेका छन् ।
संघका २०५२ पछि भएका सबै अध्यक्षहरुले उक्त अपिल जारी गरेका हुन् । अपिल जारी गर्नेमा पूर्व अध्यक्ष लोकवहादुर श्रेष्ठ, नारायण दाश श्रेष्ठ, पशुपतिवहादुर खड्का, श्याम थापा र केशवप्रसाद घिमिरे रहेका छन् । उनीहरुले आईतबार जारी गरेको अपिलमा संस्थाको हितका लागि प्रकाशकुमार श्रेष्ठलाई मतदान गर्न अपिल गरिएको छ ।
संघको ९ औं जिल्ला अधिवेशन चैत २० गते हुदैछ र उक्त अधिवेशनमा अध्यक्ष पदका लागि हालका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र महासचिव कुमार श्रेष्ठका विच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष बाहेक संघका अन्य सबै १४ पदमा निर्बिरोध चयन भईसकेको छ ।

रामेछाप उद्योग वाणिज्य संघमा रहेका सवै पदाधिकारीहरुले सहमतिका साथ नेतृत्व चयन गर्ने गरी सहमति गरेता पनि महासचिव कुमार श्रेष्ठ उक्त सहमतिमा नअटाएपछि उनले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । पूर्व सहमति कार्यान्वयनका लागि निर्बिरोध निर्वाचित सम्पूर्ण पदाधिकारीहरु र पूर्व पदाधिकारीहरु समेत प्रकाश कुमार श्रेष्ठलाई अध्यक्ष निर्बाचित गराउने अभियानमा जुटेका छन् ।
रामेछाप उद्याेग बाणिज्य संघमा जिल्लाभर छरिएका करिव १७ सय मतदाताहरुले मतदान गर्ने कार्यक्रम रहेको छ ।
