काठमाडौं । जेनजी विद्रोहका क्रममा भएका घटनाको छानविनका लागि गठन भएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा बालेन्द्र साह नेतृत्वको सरकार जुटेको छ ।
आयोगको प्रतिवेदनले दोषी ठहर गरेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार उज्यालो नहुदै पक्राउ गरेर सरकारले उक्त प्रतिवेदनको कार्यान्वयन सुरु गरेको हो । यद्यपी पक्राउको विरोधमा शनिबार देखिनै काठमाडौंका सडकहरुमा आन्दोलन चर्किन थालेको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मालाई डुण्डु स्थित निवासबाट नियन्त्रणमा लिन शुक्रबार मध्यराति देखिनै प्रहरी परिचालन गरिएको थियो । शनिबार झण्डै ५ सय भन्दा बढी सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिई प्रहरी परिसर काठमाडौं लगेका थिए । प्रहरीले हिरासतमा राख्नु अघी स्वास्थ्य परिक्षण गराउनु पर्ने नियम अनुसार उनलाई त्रिबी शिक्षण अस्पताल लगिएकोमा ओलीको मुटुको चाल बढी रहेको र पथ्थरी समेत देखिएकोले भर्ना गरेर उपचार थालिएको छ । तत्कालिन गृह मन्त्री लेखकलाई भने कान्तिपुर अस्पतालमा लगेर स्वास्थ्य परिक्षण गरी प्रहरीको २ नम्बर पहरा गण महाराजगंजको हिरासतमा राखिएको छ ।
आयोगको प्रतिवेदनलाई सुरु देखिनै एकतर्फि भएको आरोप लगाउदै आएका काँग्रेस र एमालेले ओली र लेखक पक्राउको विरोध गरेका छन् । काँग्रेसको केन्द्रीय समिति बैठकले उक्त कार्य कानुन बमोजिम कार्वाही भन्दा पनि प्रतिशोधमा केन्द्रीत रहेको बताएको छ । काँग्रेसले ओली र लेखक पक्राउको विरोधमा सडक केन्द्रीत कार्यक्रम सार्वजनिक गरेको छैन् ।
नेकपा एमालेले भने ओली पक्राउ परे लगत्तै काठमाडौं र देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । काठमाडौंको माईतिघर मण्डला देखि विभिन्न स्थानमा जुलुसहरु प्रदर्शन गरिएको थियो । सडकमा टायर बालेर प्रदर्शनमा उत्रीएका एमाले कार्यकर्ताहरु माथि ठाउँ ठाउँमा प्रहरीले लाठिचार्ज गरेको थियो । एमालेले साे घटनालाई प्रतिशाेध भनेकाे छ ।
एमालेले कार्की आयोगको प्रतिवेदन जलाएको छ । देशभर एमाले आन्दोलनमा उत्रिएको छ । एमालेको माथिल्लो निकायको निर्णय बमोजिम आज देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई ओलीको रिहाईका लागि माग गर्दै विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ । उता आजै सरकारले फौजदारी अभियोगमा अनुसन्धान गर्न ओली र लेखकलाई प्रहरी हिरासतमा राख्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।
