रामेछाप । रामेछाप उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेकका पदमा उम्मेदवारी दिने सबै जना निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेको छ । संघमा यसअघी बरिष्ट उपाध्यक्ष रहेका प्रकाशकुमार श्रेष्ठ र महासचिव रहेका कुमार श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

रामेछाप उद्योग वाणिज्य संघ निर्वाचन समितिको कार्यालयका अनुसार मंगलबार तोकिएको समय सिमा सम्म बरिष्ट उपाध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य पदमा पद संख्या भन्दा बढी उम्मेदवारी नपरेकोले निर्बिरोध निर्वाचित भएको सूचना प्रकाशित भएको हो ।

समितिका अनुसार निर्बिरोध निर्वाचित हुनेमा बरिष्ट उपाध्यक्षमा आकाश रिजाल, बाणिज्य उपाध्यक्षमा सुरेश उदाश, उद्योग उपाध्यक्षमा रामसुदिश साह सोनार, महासचिवमा यज्ञप्रसाद सुवेदी, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा आजिवन तर्फ बाशुदेव फुयाँल, महिला सदस्यमा मञ्जु माझी, एसोशियट सदस्यमा टीकाराम आरण, खुल्ला सदस्यमा किश्वोर पौडेल, सरोजकुमार तामाङ, देवचन्द्र कँठेत र राजु श्रेष्ठ समेत निर्बिरोध निर्वाचित भएका छन् ।

संघको निर्वाचन तालिका बमोजिम २० चैतमा मतदान गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष पदमा परेका दुई मध्ये उम्मेदवारी फिर्ता गर्ने समय भित्र कुनै एकले उम्मेदवारी फिर्ता नलिएमा २० गते मतदान हुनेछ ।