रामेछाप । नेपाली सेना बाट सेवा निवृत भएका भूतपूर्व सैनिकहरुको सम्मेलन २०८३ बैशाख ४ गते रामेछापमा हुने भएको छ । रामेछाप जिल्लामा बसोवास गर्ने र रामेछाप जिल्लामा रहेका विभिन्न बैंकबाट पेन्सन सुविधा लिने भूपू सैनिकहरु उक्त सम्मेलनमा सहभागि हुनेछन् ।
नेपाली सेना खड्गदल गण रामेछापले सम्मेलनको तयारी तिब्र पारेको छ । सम्मेलन रामेछापको टुँडिखेलमा आयोजना गर्ने तयारी भइरहेको छ । सम्मेलनमा सहभागि हुन चाहने भूतपूर्व सैनिकहरुले सम्मेलन स्थानमा जान प्रवेश पास बैशाख १ गते सम्म लिनु पर्ने गरी सूचना जारी भएको छ ।
भूतपूर्व सैनिक सम्मेलनमा विगतमाझै भुपू सैनिकहरुलाई कपडा तथा झोला वितरण, बहालवाला र भुतपूर्व सैनिकका अशक्त आश्रितहरुलाई ह्वीलचियर वितरण, सैनिक सेवा बाट निवृत भएर व्यवसाय गर्ने लाई पुरस्कार वितरण र जेष्ट भूतपूर्व तथा जेष्ट एकल महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशाेकराज सिग्देल लगाएत उच्च सैनिक अधिकारीहरु समेतको उक्त सम्मेलनमा सहभागिता रहने नेपाली सेनाको खड्गदल गण रामेछापले जनाएको छ । सम्मेलनमा रामेछापका करिव ३ हजार भूपू सैनिक र आसपासका जिल्लाहरु दोलखा, सिन्धुली र ओखलढुंगाबाट केहि आमन्त्रित गरिएकाहरु सहभागि हुनेछन् ।
