रामेछाप । रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार डा.कृष्णहरी बुढाथोकी विजय भएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आईतवार अपरान्ह गरेको घोषणा बमोजिम रास्वपाका उम्मेदवार बुढाथोकीले कुल २४ हजार ८ सय ८ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्यूनिष्ट पार्टी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६ सय ९ मत प्राप्त गरेका थिए ।

अन्तिम मतगणना विवरण अनुसार नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७, नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिपवहादुर योञ्जनले ७ हजार २ सय १ र श्रम संस्कृति पार्टीका उम्मेदवार ढालवहादुर खपाङ्गी मगरले १ हजार ३ सय ३६ मत प्राप्त गरेका थिए । रामेछापबाट ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार रहेकोमा अन्य उम्मेदवारले उल्लेख्य मत प्राप्त गर्न सकेनन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बुढाथोकीलाई मूख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरी बधाई दिएका थिए । उक्त अवसरमा बुढाथोकी सगैं प्रत्यासी रहेका उम्मेदवारहरुले उनलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । घोषणा पछि मतगणना स्थल देखि स्थानीय देबकोटा चोक पुगेर विजयसभा गरिएको रास्वपाले जनाएको छ ।

नबनिर्वाचित बुढाथोकी मन्थली नगरपालिका गेलु निवासी हुन् । उनले यस अघी कुनै पनि निर्वाचित पदमा रहेर काम गरेका छैनन् । नेपाल बैंक लिमिटेडमा केहि समय अघि मात्र जागिर छोडेर उनी रास्वपाको टिकट लिएर चुनावमा होमिएका हुन् । यद्यपी बुढाथोकीले काठमाडौं रामेछाप श्रृजनशिल समाज नामको गैरसरकारी संस्था मार्फत समुदायमा केहि न केहि कार्य गर्दै आएका थिए ।

गणतन्त्र प्राप्ति पछि भएका संघिय संसदका दुई वटा निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुले विजय हासिल गरेका थिए । २०७४ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेस र तत्कालिन माओवादी केन्द्रको गठवन्धनबाट श्यामकुमार श्रेष्ठ सांसद पदमा निर्वाचित भएका थिए भने २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोहि दुई पार्टीको गठवन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्णवहादुर तामाङ ( कान्छाराम ) निर्वाचित भएका थिए । उक्त दुवै निर्वाचनमा नेकपा एमालेका कैलाशप्रसाद ढुंगेल प्रतिस्पर्धी थिए ।