रामेछाप । प्रतिनिधिसभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको मतगणना रामेछापमा अन्तिम चरणमा पुगेको छ । अव केहि स्थानको मतपेटिकाको मत गणना हुन बाँकी रहदा रास्वपाका उम्मेदवार कृष्णहरी बुढाथोकीको जित सुनिश्चित बनिसकेको छ ।
आईतवार अपरान्ह साँढे ३ बजे सम्म रास्वपाका उम्मेदवार बुढाथोकीलाई २३ हजार ६ सय ३९ मत प्राप्त भएको छ भने उनलाई पछ्याईरहेका नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेललाई १६ हजार ९ सय ६८ मत प्राप्त भएको छ । तेश्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १५ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।
झण्डै ७ हजार मत गणना हुन बाँकी रहेकाले बुढाथोकीको जित हुन केहि मत मात्रै आवश्यक रहेको छ । बाँकी मत गणना नहुदै उनको विजय सुनिश्चित भएकाले प्रतिस्पर्धामा रहेका अन्य दलका उम्मेदवारहरुले बुढाथोकीलाई बधाई र कार्यकालको शुभकामना दिइसकेका छन् ।
