काठमाडौं । फागुन २१ गते भएको संघिय संसद प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रि«य स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई सीटमा जित हासिल गरेको छ । निर्वाचनको प्रत्यक्ष तर्फको नतिजा अन्तिम तिर पुग्दा उक्त पार्टीले १ सय १७ सिटमा विजय हाशिल गरेको छ भने ८ स्थानमा अग्रता लिईरहेको छ । अग्रता धेरै रहेकोले उक्त स्थानहरुमा पनि रास्वपालेनै विजय हासिल गर्ने संभावना अधिक छ । समानुपातिक समेत जोड्दा रास्वपा संसदमा दुई तिहाईको अवस्थामा पुग्ने अनुमान गरिएको छ ।
समानुपातिक तर्फ पनि रास्वपाको अत्याधिक मत आईरहेको छ । आईतबार अपरान्ह ३ बजे सम्म रास्वपाले समानुपातिकमा १९ लाख ४७ हजार मत प्राप्त गरीसकेको छ । समानुपातिकमा अन्य दल धेरै तल रहेका छन् । नेपाली काँग्रेसले ६ लाख ६५ हजार र एमालेले ५ लाख ६० हजार समानुपातिक मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्टपार्टीले २ लाख ६५ हजार हाराहारीमा समानुपातिक तर्फको मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ नेपाली काँग्रेसले १७ स्थानमा विजय हासिल गरेको छ । नेकपा एमालेले ७ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने एउटा क्षेत्रमा प्रतिस्पर्धा गरीरहेको छ । यस अघी संसदमा रहेको राप्रपाले १ स्थान र संसदिय प्रतिस्पर्धामा पहिलो पटक उत्रिएको श्रम संस्कृति पार्टीले २ स्थानमा विजय हासिल गरेका छन् । श्रम संस्कृतिको अन्य १ स्थानमा प्रतिस्पर्धा चलिरहेको छ । यस पटकको निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
