रामेछाप । सोमबार मतदान केन्द्रमा जादै गर्दा रामेछाप नगरपालिकाको देउरालीमा भएको सवारी दुर्घटनामा परि मृत्यू भएका रामेछाप नगरपालिका ३ नम्बर वडा कार्यालय भवन साँघुटार मतदान केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मंगलबार तामाकोशी नदी किनारमा अन्तिम संस्कार गरिएको छ ।

घिमिरेको शव मन्थली अस्पतालमा पोष्टमार्टम सकेर सुकाजोर खोला दोभानमा अन्तिम संस्कारका लागि लगिएको थियो । उनको पार्थिव शरिरमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, चुनावी मैदानमा रहेका उम्मेदवार लगाएत राजनीतिक दलका अगुवाहरु र आफन्तजनले अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक घिमिरे देउराली र साँघुटारका विभिन्न ३ स्थानका ६ मतदान केन्द्रका सामाग्री र कर्मचारीहरु सहित साँघुटार तर्फ जादै गर्दा सवारी दुर्घटनामा परेका थिए । उनलाई उपचारका लागि मन्थली अस्पताल सम्म ल्याएको भएपनि उपचार हुन नपाउदै उनको मृत्यू भएको थियो । दुर्घटनामा परेका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटना स्थलमानै मृत्यू भएको थियो । उक्त दुर्घटनामा परेका ७ जना घाईतेलाई सोमबार साँझ हेलिकोप्टरबाट काठमाडौंको सैनिक अस्पताल पठाइएको छ ।