रामेछाप । माझिहरुको प्रमुख चाडको रुपमा रहेको नदी ( लदी पुजा ) पुजा रामेछापका विभिन्न घाटहरुमा मंगलबार गरिदै छ । माझी समुदायले उक्त पूजा उल्लासपुर्वक गर्ने चलन छ ।
नदीलाई भान्जा नाताको रुपमा लिने माझीले सुरक्षित रुपमा नदी वारपार गर्नका लागि सहयोग गर्ने नदीलाई कृतज्ञता प्रकट गर्नका लागि परम्परा देखि कोशीको पुजा गर्दै आएका छन् । रामेछाप विभिन्न घाटहरुमा टोल बमोजिमको बलि दिई कोशी पुजा गर्ने चलन छ ।
रामेछापको मन्थली, भटौली, ओडारे, जखनिटार, गाईंखुरा, सेलेघाट, कुनाउरी, रजगाउँ, हातिटार, नबुघाट, डव्खा, कोथवे, सित्खा लगाएतका घाटहरुमा माझी समुदायहरुले कोशी पुजा गर्ने चलन छ । कोशी पुजाकालागि कोशी किनारमा पुगेर फुल अक्षता चढाउनुका साथै चलन अनुसार विभिन्न पशुको बली दिने चलन रहेको छ ।
माझीहरुको प्रमुख चाडको रुपमा रहेको नदी पुजाको अवसरमा मन्थली नगरपालिकाले नगरपालिका भित्र सार्बजनिक विदा दिएको छ । नगरपालिकाले अत्यावश्यक बाहेकका काम बिदाको दिन नहुने जनाएको छ ।
