रामेछाप । फागुन २१ मा हुने निर्वाचनका लागि खटाइएका कर्मचारी सोमबार आफुलाई तोकिएको मतदान केन्द्रमा पुग्नु पर्ने थियो । विहानै देखि निर्बाचन सामाग्री र मतपत्र बुझन् मतदान अधिकृतहरु सदरमुकाममा खटिरहेका थिए । आफ्ना केन्द्रका प्रहरी सुरक्षाकर्मी र सहायक कर्मचारीहरु खोज्ने, भेटने र सामान बुझेर गन्तव्य पुग्न सबैलाई हतारै थियो ।
यसै मेसोमा थिए, रामेछाप नगरपालिकाको सितलादेवि मावि मतदान केन्द्र ख मा खटिएका थिए मतदान अधिकृत कमलादेवि मावि नामाडिका प्रअ रबिराज खड्का । उनी सगैं सोहि माविको क केन्द्रमा परेका मतदान अधिकृत कृष्णप्रसाद घिमिरे, कालिकादेवि मावि देउराली क की मतदान अधिकृत फुलकुमारी गिरी, सोहि माविको ख केन्द्रका मतदान अधिकृत जनक श्रेष्ठ, वडा कार्यालय भवन साँघुटार क का मतदान अधिकृत भिमवहादुर मानन्धर र सोहि भवनको ख केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरेका विच एउटै गाडिमा सामान र कर्मचारी जाने बारेमा सहमति भयो । एउटै गाडि जादा गाडिको व्यवस्थापन र खर्चको हिसावले पनि सजिलो हुने भएकाले अधिकांश मतदान अधिकृतहरुले त्यस्तै गर्ने चलन थियो । उनीहरुले पनि त्यहि जुक्ति निकाले । सबै ६ जना मतदान अधिकृतहरु शिक्षक भएकाले पनि सहमति जुट्न सजिलो भयो ।

भिमवहादुर मानन्धर भिमेश्वर प्रसुन कँडेल मावि रजगाउँका शिक्षक हुन् । उनले चिनेका आफन्तकै निशान ट्रक थियो । त्यहि ट्रक साँघुटार सम्म लैजान भाडामा लिए । ६ वटै मतदान अधिकृत भेला भए, सुरक्षाकर्मी भेटिए अनि केहि सहायक कर्मचारी पनि एकजुट भए । मतदानका लागि बुझेको सामान गाडिमा हालियो, सवै हिड्ने तयारीमा पुगे ।
तर जसले गाडि भाडामा खोज्यो उनै भिमवहादुर मानन्धरले हिड्ने बेलामा प्वाक्क भने – मलाई त नजाउँ झै लाग्यो, जिउ नै भारी भएर आयो । छेउमै उभिएका रबि छक्क परे । हिड्ने बेलामा के बोलेको होला ? भन्ने लाग्यो उनलाई । रबि भन्छन् – मैले हिड्ने बेलाको साईतमा उनले निकालेको शव्द लाई गम्भिर रुपमा थिए । मेरो मतदान सहयोगी कर्मचारी खाँडादेविको माकादुम देखि मोटरसाईकलमा मन्थली सम्म आएका थिए, खड्काले भने – मैले उनलाई हामी बाईममा जाउँ भने , उनले मानिहाले । म र उनी बाईममा जाने निधो गरेको कुरा अरुलाई सुनाए । मानन्धरले जिउ भारी भएको र नजाने जस्ता दिग्दारीका कुरा त गरे तर फेरी रोकिएनन्, ट्रकमा चढे । मोटरसाईल अघी लाग्यो पछि पछि ट्रक गुड्यो ।
रबि र उनका सहयोगलीले देउरालीमा पुगेर धेरै बेर ट्रक लाई कुरे । तर कतिखेर हो ट्रक अघी लागेछ पत्तै भएन । फोन गर्दा वडा कार्यालय नजिक पुग्न थालेको जानकारी आयो, अनी खड्का पनि बाटो लागे । तोकिएको मतदान केन्द्रमा पुग्दा ट्रक पुगेको थिएन, बरु त्याहां मानिसहरु कुदाकुद गर्दै थिए, ट्रक पल्टिएको भन्दै । उनले सोधे कुन ट्रक ? गाउँलेले भने चुनावमा आउने कर्मचारी बोकेको ट्रक । उनी छाँगा बाट खसे जस्तै भए । उनी पनि दौडिए घटनास्थल तिर । मतदान केन्द्र नजिकै पुगेको गाडि भिरबाट झरेको थियो । ठाडो भिर बाट झरेको गाडि माथि देखि देखिदैनथ्यो । उनकै सहायक मतदान अधिकृत पुजादेवि सुनुवार विच भिरमै अड्किएकी थिईन्, तर झिक्न सक्ने अवस्था थिए । डोरी खोजेर तान्दै उनलाई निकालेपछि अरु मद्धत थपियो । जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली पुग्यो । त्यस बेला सम्म प्रहरी सहायक निरीक्षकको घटनास्थलमानै मृत्यू भईसकेको थियो । अरु घाईते निकाले उपचारका लागि पठाइए । घाईते मध्ये मतदान अधिकृतका लागि खटाइएका शिक्षक डोरप्रसाद घिरिमेको मन्थली अस्पतालमा उपचार हुदाँ हुदै मृत्यू भयो । अरु ७ जना लाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाईयो । सोमबार राति झण्डै ९ बजे सम्म खड्का घटनास्थलमा छरिएका मतदान सामाग्री जोरजाम गर्दै थिए । उनले बास बस्ने थलोमा पुगेर भने – मलाई आज एकै शव्दले बचाँयो ।
