रामेछाप । रामेछापको देउरालीमा मतदानका लागि कर्मचारी लिएर जादै गरेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका २ को सिरुवारी नजिकको भिरमा आज अपरान्ह दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको छ । दुर्घटनामा परेर ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेर जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत सप्तरी जिल्ला घर भएका प्रहरी सहयाक निरीक्षक पर्शराम यादवको घटनास्थलमानै र मतदान अधिकृतको रुपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचार हुदाँ हुदै मृत्यू भएको छ । घाईते ७ जनालाई घटनास्थलबाट उद्धार गरी रामेछाप विमानस्थल सम्म एम्बुलेन्समा ल्याएर सेनाको हेलिकप्टरमा साँझ अवेर काठमाडौं पठाइएको छ । उनीहरुमा सितला देवि मावि मतदान केन्द्रकी सहायक मतदान अधिकृत पुजा सुनुवार, मतदान अधिकृत कृष्णप्रसाद घिमिरे, साँघुटारका मतदान अधिकृत भिम मानन्धर लगाएत रहेका छन् ।
ट्रकमा सवार सहायक कर्मचारी कमला ढुंगेल र अर्को एक गरी दुईजनाले भने हाम फालेर ज्यान जोगाएका छन् । प्रत्यक्षदर्शिका अनुसार भिरबाट धेरै बल्ड्याङ खादै झरेको उक्त ट्रक दुर्घटना स्थलमा छरिएका कतिपय यात्रुलाई डोरीको सहयोगले निकालिएको थियो । साँझ अबेर सम्म पनि मतदानको सामाग्रीहरु संकलन गर्ने काम भइरहेको छ । मतदानका लागि लगिएका मतपेटिका क्षति भएका र अन्य सामाग्रि सुरक्षित भेटिएको सितलादेवि मावि मतदान केन्द्रका मतदान अधिकृत रबिराज खड्काले बताएका छन् ।
रामेछाप नगरपालिका २ को कालिका मावि देउराली, सितलादेवि मावि सिरुवारी र साँघुटार २ गरी ५ वटा मतदान केन्द्रका निर्वाचन सामाग्री र कर्मचारीहरु उक्त ट्रक रिजर्भ गरी त्यस्त तर्फ गएका थिए । देउरालीको कालिका मावि मतदान केन्द्रमा कर्मचारी र मतदान सामाग्री खसालेर सितला देवि मावि मतदान केन्द्रमा जादै गर्दा ट्रक दुर्घटनामा परेको हो । उकालो कच्ची सडकमा जादै गरेको ट्रक पछि सर्दै भिरबाट करिव ३ सय मिटर झरेको थियो । दुर्घटनामा परेको उक्त ट्रक टुक्रा टुक्रा भएर छरिएको अवस्था छ ।
श्रोतका अनुसार उक्त गाडिमा सुरक्षाकर्मी तर्फ यादव मात्र थिए भने ६ वटा मतदान केन्द्र मध्ये ५ जना मतदान अधिकृत , मतपत्र सहितका निर्वाचन सामाग्री र सहयाक स्तरका केहि कर्मचारी थिए । सोमबार मतदान केन्द्रमा पुगिसक्न र मतदान कार्यको लागि तोकिएको सूचना जारी गर्न निर्देशन भए बमोजिम सोमबार जिल्लाका सवै मतदान केन्द्रमा कर्मचारीहरु सदरमुकामबाट हिडेका थिए ।
