रामेछाप । नेकपा एमालेका पूर्व जिल्ला सदस्य सुजन पौडेल ( रमेश बाहुन ) ले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई सघाउने भएका छन् ।
शनिबार लिखु तामाकोशी गाउँपालिकामा नेपाली काँग्रेसको चुनावी कार्यक्रम तथा घर दैलो कार्यक्रममा पौडेल काँग्रेसका उम्मेदवार रामचन्द्र खड्काको पक्षमा मत माग्दै हिडेका छन् । उनले रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार खड्कालाई विजय गराउनका लागि आफ्नो सहयोग रहने वताएका छन् । उनी लिखु तामकाेशी गाउँपालिका निबासी हुन् ।
२०६४ सालमा एमालेका अध्यक्ष केपी ओलीको हात बाट सदस्यता लिई एमाले प्रवेश गरेका पौडेललाई तत्कालै जिल्ला समिति सदस्य पदमा मनोनित गरिएको थियो । उनले केहि समय एमालेमा सक्रिय राजनिति गरेका थिए । केहि अवधि बैदेशिक व्यवसायमा उनले समय विताएका थिए । रामेछाप काँग्रेसले पौडेल र उनको टिमको सहयोगले निर्वाचनमा थप सहजता महशुस गरेको छ ।
