रामेछाप । पन्ध्र दिन देखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिले रामेछापको मन्थली हुदै विभिन्न ग्रामिण क्षेत्रमा चल्ने बस सेवा बुधबार देखि संचालनमा ल्याएको छ ।

१५ जनाको ज्यान जाने गरी माघ २७ मा भलुवाजोरको लिलौतिमा भएको बस दुर्घटना पछि मृतकका आफन्तहरुले राहत तथा क्षतिपूर्तिको कुरामा असन्तुष्टि जनाउदै अरनिको सेवा प्रालिका यात्रु बोकेका बसहरु विच बाटोमा रोकेर चालक माथि दुव्र्यवहार गरेका थिए । सो घटना पछि सुरक्षाको कारण देखाउदै १५ दिन अघी देखि मन्थली हुदै गुड्ने सवै क्यूहरु नेपाल यातायात सेवा प्रालिले स्थगित गरेको थियो ।

ग्रामिण क्षेत्रमा जाने र बाहिरीने दैनिक ७० वटा वसहरु बन्द भएपछि रामेछापको जनजिवन प्रभावित बनेको थियो । ग्रामिण क्षेत्रमा जाने आउने यात्रुले असुविधा भोग्नु परेको र दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि नागरिक स्तरका संघ संस्थाहरुले राज्यले प्रभावकारी भूमिका खेल्न नसकेकोमा आक्रोश पोख्न थालेका थिए ।

बस दुर्घटनामा ज्यान गुमाएका १५ जनालाई विमा सुविधाको ५ लाख र काजक्रिया बापत १ लाख रुपैयाँ उपलव्ध गराउने तयारी छ । मृतकहरुका आफन्तले भने प्रति मृतक २५ लाख रुपैयाँ माग गरेका थिए । दुर्घटनामा घाईते भएका ८ जनाको उपचारको जिम्मा प्रालिले लिएको छ ।

नेपाल अरनिको यातायात सेवा प्रालिका रामेछाप जिल्ला ईन्चार्ज सुबाश फुयाँलले मन्थली रुट भएर गुड्ने बसहरु संचालन हुन थालेको वताए । सवै स्थानमा आज चलेको छैन् फुयाँलले भने – तर सेवा थालनी भएको छ ।