रामेछाप । माघ २७ गते रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरको लिलौति भीरमा भएको बस दुर्घटनाको १५ दिन वितिसक्दा पनि दुर्घटना पिडितलाई राहत तथा क्षतिपूर्ति उपलव्ध नगराएको र बन्द रहेको बस संचालन नगरेको प्रति रामेछापको लिखु तामाकोशी गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रीनले संयुक्त रुपमा उक्त ध्यानाकर्षण गराएका हुन् । बस दुर्घटनामा उक्त गाउँपालिकाका मात्र १० जनाको मृत्यू भएको थियो ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकार उक्त दुर्घटना प्रति संवेदनसिल नभएको विषयमा गम्भिर ध्यानाकर्षण गराउछौं भनिएको छ । उक्त दुर्घटनाको छानविन गरी मृतक तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार संग माग गरिएको छ । ध्यानाकर्षण पत्रमा पूर्व अरनिको यातायात समितिको बस सेवा वन्द भई यातायात संचालन असहज भएकोमा उक्त घटना प्रति संवेदनशिल र जिम्मेवार भई यातायात संचालनलाई प्रभावकारी र व्यवस्थित बनाउन समेत माग गरिएको छ । लिलौति बस दुर्घटना पछि यात्रु लिएर गुडेका नेपाल अरनिको यातायात सेवा प्रालिका बसहरुलाई दुर्घटना पिडितहरुले विच सडकमा रोकेर चालक लाई अभद्र व्यवहार गरेपछि प्रालिले विगत १५ दिन देखि मन्थली हुदै संचालन हुने बस क्यू स्थगित गरेको छ ।

लामो समय वितिसक्दा पनि दुर्घटना पिडित हरु संग वार्ता र संवाद मार्फत क्षतिपूर्ति लगाएतको विषय टुंगो लगाएर बस संचालन गर्न नसक्दा सरकारको चौतर्फि आलोचना हुन थालेको छ । व्यवसायीहरुले बस वन्दले जिल्लाको व्यापार क्षेत्रले नराम्रो अवस्थाको सामना गर्नुपरेको नेपाल उद्योग व्यापार महासंघ रामेछापले जनाएको छ । सर्वसाधारणको दैनिक उपभोग्य वस्तु खरिद तथा कृषि उपजलाई बजार सम्म लैजान नपाएको कुराले पनि थप जटिलता पैदा गरेको छ । विरामी वृद्धवृद्धा बालबालिका लगाएतले भनेको बेलामा यात्रा गर्न नपाउनु दुखद भएको र यसलाई तत्कालै समाधान गर्नुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन् ।
