रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा १ हजार ३ सय ७४ जना कर्मचारी खटाईने भएको छ । निर्वाचनमा निजामति कर्मचारीका साथै शिक्षकहरुलाई खटाउने तयारी छ ।

जिल्लामा रहेका २ सय ३० वटा मतदान केन्द्रका लागि ति कर्मचारीहरु परिचालन हुनेछन् । मतदान अधिकृत २ सय ३०, सहायक मतदान अधिकृत २ सय ३०, सहायक स्तरका कर्मचारी ६ सय ८४ र सहयोगीहरु १ सय ३० जना खटाउने तयारी भएको हो ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले आईतबार गरेको संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा निर्वाचनका लागि अन्य तयारी पनि सगसगैं भएको छ । निर्वाचनका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन भइसकेको छ भने मतपत्र एकदुई दिन भित्र जिल्लामा आईपुग्ने जनाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम संचालनमा रहेको र मतदान कार्यमा खटाईने कर्मचारीहरुलाई मंगलबार देखि तालिम कार्यक्रम आयोजना गर्ने तयारीमा कार्यालय जुटेको छ ।

जिल्लामा यस पटक कारागार र शघन शहरी तथा भवन निर्माण आयोजना गरी दुई स्थानमा अस्थायी मतदाताको लागि मतदान केन्द्र व्यवस्थापन गरिएको छ । निर्वाचनमा नखटेका सुरक्षाकर्मी , कैदीबन्दी र कर्मचारी लगाएतले उक्त केन्द्रबाट मतदान गर्ने जनाइएको छ । अस्थायी मतदाताले समानुपातिक तर्फको मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

रामेछाप जिल्ला मुलुककै सबैभन्दा धेरै मतदाता रहेको जिल्ला हो । जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ जना मतदाता रहेका छन् । गत निर्वाचनमा रामेछाप जिल्लामा करिव ६२ प्रतिशत मतदान भएको थियो ।