रामेछाप । उत्तरकुमारी श्रेष्ठ, रामेछापको दक्षिणी भूभागको अगुवा महिलाको नाम हो । सामाजिक कार्यमा अघी बढ्ने र उभिएर केहि कुरा बोल्ने आँट भएकी यी महिलाले केहि अघीका निर्वाचन देखि एउटै माग गरेकी छिन् – सिन्धुलीबाट रामेछाप जोड्ने गरी हर्दिनीमा पक्कि पुल चाहियो । तर उक्त माग केहि चुनावमा दोहोरिईरहेको छ, यस पटक बाट उठाउनु नपरोस भन्ने उत्तरकुमारीको माग छ ।
रामेछाप नगरपालिकाको टार देखि केहि भिरालो झरेपछि हर्दिनी आउँछ , त्यहि बगेको छ सुनकोशी । सुनकोशी नदीमा पक्कि पुल छैन् । राज्यले जसो तसो रामेछापबाट हर्दिनी सम्म पुग्ने कच्चि सडक बनाएको छ, तर उक्त सडकले मध्यपहाडिको कालोपत्र सडक छुनका लागि सुनकोशी बाधक बनेको छ । सुनकोशीमा पुल भईदिए आफ्नो गाउँ हुदै रामेछाप फुत्त पुगिने श्रेष्ठको आशा छ ।
टारका बासिन्दालाई अहिले झण्डै १ घण्टा लाग्ने कठिन उकालो हिडेर रामेछाप पुगेर गाडि चढ्नु पर्ने बाध्यता छ । गाउँमा सडक पुगेपनि सार्वजनिक सवारीका साधन चल्दैनन् । ‘हामी रिजर्भ गरेर ल्याउन सक्दैनौं, सार्वजनिक यातायात चलेको छैन् ’ श्रेष्ठ भन्छिन् – सडक भएर पनि हामीलाई हिड्नै पर्ने बाध्यता छ । उत्तर कुमारीको उक्त मागमा टार, राताटार, सिमन्ति र भोटटारका बासिन्दाले हो मा हो मिलाउने गरेका छन् ।
टारका बासिन्दाहरु सिमन्ति हुदै गाडि चढ्न भंगेरी या रामेछाप पुग्नु भन्दा आधा घण्टा ओरालिएपछि अहिले मध्यपहाडि सडक पुग्छन् । घुर्मीबाट खुर्कोट जोड्ने उक्त सडकमा पुगेपछि यात्रा सहज हुने उनीहरुको भनाई छ । हर्दिनीमा पहिले देखि झोलुङ्गे पुल रहेकै छ । गत बर्षको बाढीले उक्त पुल लाई पनि छ्याछ्या पारेर विगारेको छ । स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
केहि दिन अघी भोट माग्नका लागि गाउँ पुगेका उम्मेदवार संग उत्तरकुमारीले दुईटा माग राखिन् । ‘हर्दिनीमा पक्कि पुलको कुरा उठाएको धेरै भयो, कता गयो त्यो पुल ? ’ श्रेष्ठले प्रश्न सोधिन – हामीलाई अरु चाहिएन, हर्दिनीमा पुल भए पुग्छ । सगसगैं श्रेष्ठले बाढीले क्षति भएको झोलुङ्गे पुलको मर्मतको कुरा कहिले हुन्छ ? भनेर प्रश्न राखिन ।
रामेछाप नगरपालिकाले रामेछापलाई मध्यपहाडि सडकमा जोड्नका लागि हर्दिनी घाट र विर्तामा एकै साथ पक्कि पुलको अवधारणा अघि सारेको थियो । तर दुवै पुल निर्माणको कुरा हाल सम्म अघी बढेको छैन् । यस बर्ष केहि पुलको सर्वेक्षणका लागि बजेट परेको र उक्त दुवै पुलको सर्वेक्षण सक्ने लक्ष्य रहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले वताए । निर्वाचनका लागि बजेट रोक्का रहेकोले केहि ढिला हुन पुगेको हो , न्यौपानेले भने – अर्थ मन्त्रालयले धमाधम बजेट फुकुवाको प्रकृया थालेकोले अव चाडै उक्त पुलको सर्भे कार्य हुन्छ ।
मध्यपहाडि सडकबाट रामेछाप जोड्न उक्त दुई मध्ये कुनै एक स्थानमा पुल भएमा छोटो यात्रा गर्दा पुग्छ । अहिले रामेछाप पुग्न सेलेघाट बाट भलुवाजोर हुदै जाने गरीएको छ । सडक त छ, तर दक्षिणी भागका बासिन्दालाई सहज बनाउने र सुनकोशीको नदीजन्य पदार्थ निकालेर वजार सम्म पु¥याउन पनि सुनकोशीको पुल अपरिहार्य रहेको स्थानीयको भनाई छ ।
