रामेछाप । बस संचालनमा असुरक्षा भएको भन्दै १४ दिन अघीदेखि नेपाल अरनिको यातायात सेवा प्रालिले स्थगित गरेको रामेछापको मन्थली हुदै गुड्ने बस सेवा पुनः संचालनमा आउन सकेको छैन् ।
स्थानीय प्रशासन, राजनीतिक दल, यातायात व्यवसायी र दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तहरु आ आफ्ना अडानमा रहदा रोकिएको बस सेवा सूचारु हुन नसकेको हो । बस रोकिदा दुर्गम क्षेत्रमा ओहोर दोहोर गर्ने सर्वसाधरणले भनेको बेलामा गन्तव्यमा आउजाउ गर्न सकेका छैनन् । साना सवारी साधनले क्षमता भन्दा बढी यात्रु कोचेर गुड्न थालेपछि थप दुर्घटनाको भय बढेको छ । ९ जनाको सिट रहेको टाटासुमोले १३ जना सम्म यात्रु बोकेर गुड्न थालेको स्थानीयले दावि गरेका छन् । कतिपय ग्रामिण क्षेत्रमा जीपको छतमा समेत यात्रु देखिन थालेका छन् ।
माघ २७ गते रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने लिलौतिको भिरबाट तामाकोशीमा झरेर दुर्घटना भएको नेपाल अरनिको यातायात सेवा प्रालिको बसमा रहेका १५ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा ८ जना घाईते भएका छन् । घाईतेहरु मध्ये अझै केहि अस्पालमा उपचार गराइरहेका छन् ।
दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले बस संचालन गर्ने व्यवसायी संघ सँग प्रति मृतक २५ लाख क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने माग गर्दै आएका छन् । तर नेपाल अरनिको यातायात सेवा प्रालिले भने उक्त माग बमोजिम क्षतिपूर्ति उपलव्ध गराउन नसक्ने जनाउदै आएको छ । प्रालिले मृतकको विमा वापत ५ लाख र काजक्रिया खर्च वापत थप १ लाख उपलव्ध गराउने जनाएको छ । अन्यत्र ५ लाख भन्दा बढी रकम क्षतिपूर्ति उपलव्ध नगराएको भन्दै प्रालिले रामेछाप दुर्घटना प्रति संवेदनशिल हुदै थप १ लाख उपलव्ध गराउने निर्णयमा पुगेको जनाएको हो ।
दुर्घटनाको तेश्रो दिन अर्थात माघ मसान्तको दिन यात्रु लिएर लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङको आरुबोटे पुगेको नेपाल अरनिको यातायात सेवा प्रालिको बसलाई रोकेर मृतकका आफन्तले चालक र सहचालक माथि हातपात गरेका थिए । उक्त स्थानमा पुगेको बसका यात्रु अलपत्र परेको र दुर्घटनास्थलमा थप ३ वटा वस रोकेपछि प्रालिले मन्थली हुदै संचालन हुने सवै क्यू अनिश्चितकाल सम्म स्थगित गर्ने सूचना जारी गरेको थियो ।
यसैविच जिल्लाका दुर्गम र ग्रामिण स्थानमा संचालन हुदै आएको एक मात्र यातायातका साधन बस रोकिदा सर्वसाधारणले सास्ती भोग्नु परेको र निर्वाचन समेत नजिकिदै गएको सन्दर्भमा बस सेवा सूचारु गर्न पहलकदमी गर्न रामेछापका नागरिक स्तरका संघ संस्थाका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा समक्ष आग्रह गरेका थिए । प्रजिअले सो विषयमा आवश्यक पहल हुदै गरेको जनाएका थिए । तर त्यसको पनि साता दिन वितिसक्दा बस गुडेका छैनन् ।
नेपाल अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले सुरक्षाको पूर्ण प्रत्याभुति नभै बस संचालन गर्ने समिति, बसमा यात्रा गर्ने यात्रु र जिल्ला स्थित सूरक्षा निकायलाई समेत भोली केहि भईहालेमा नराम्रो हुन सक्ने तर्फ ध्यान दिदाँ चाहेर पनि बस पठाउन नसकेको वताए । हामी उक्त घटना प्रति गम्भिर र संवेदनशिल भएरनै १ लाख रुपैयाँ थप उपलव्ध गराउने निर्णयमा पुगेका हौं क्षेत्रीले भने तर त्यसका लागि सवैले आ आफ्नो क्षेत्रबाट पहल हुनुप¥यो । रामेछापको मन्थली हुदै दैनिक ७० वटा बस आउ जाउ गर्थे ।
यसैविच रामेछापको पश्चिमी क्षेत्रमा काभ्रेको दोलाघाट र खैरेनीबाट, उत्तरी रामेछापमा दोलखाको जिरी बाट र दक्षिणपूर्वि रामेछापमा नबलपुरबाट बसहरु संचालनमा आईरहेका छन् ।
