रामेछाप । पन्ध्र जनाको ज्यान जाने गरी भएको रामेछापको भलुजावोरमा पर्ने लिलौति बस दुर्घटना पछि रामेछापका दुर्गम र ग्रामिण क्षेत्रमा गुड्ने अरनिको सेवा प्रालिका बसहरु संचालनमा आएका छैनन् ।

दुर्घटनाको दुई दिन पछि गुडेका प्रालिका बसहरुलाई मृतकका आफन्तहरुले विच बाटोमा रोकेर चालक माथि हात पात गरेपछि अरनिको यातायात सेवा प्रालिले मन्थली भएर गुड्ने सवै क्यू स्थगित गरेको थियो । प्रालिले सूचना जारी गरेर बन्द भएको बस खुलाउनका लागि स्थानीय प्रशासनले नतिजामुखि प्रयास नगर्दा स्थानीयले सास्ती वेहोर्नु परेको प्रितिका मानवहादुर खत्रीले वताएका छन् ।

रामेछाप र ओखलढुंगाका विभिन्न स्थानमा मन्थली हुदै प्रालिका दैनिक ७० वटा वस ओहोरदोहोर हुने गरेका थिए । सुरक्षाको प्रत्याभुति नभएकोले सेवा बन्द गरेको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष केदार क्षेत्रीले स्थानीय प्रशासनले सुरक्षा दिन असमर्थ भएकोे जनाएकोले बाध्य भएर क्यू स्थगित गरेको वताए । उनले दुर्गमका बासिन्दालाई परेको कठिनाई प्रति ध्यान दिदै चाडैनै स्थगित भएको क्यू लाई फेरी संचालन गर्ने तयारी थालिएको वताए । ‘हामी चाडै यस विषयमा गम्भिर छलफलमा जुटने र सेवा सूचारु गर्ने विषयहरुमा आवश्यक निर्णयमा पुग्नेछौं ’ उनले भने ।

कच्चि सडक भएका अधिकांश ग्रामिण वस्तीका बासिन्दाहरु सार्वजनिक यातायातको रुपमा बस प्रयोग गर्ने गर्छन् । ग्रामिण भेगमा थोरै मानिस बोकेर टाटासुमो पुग्ने गरेका भएपनि प्रयाप्त छैनन् । बसले धेरै यात्रु र सामान बोक्ने गरेकाले भरपर्दो साधन त्यहि थियो नागदहका रामवहादुर बुढाथोकीले भने – बस बन्द भएपछि धेरैले चाहेको दिन यात्रा गर्न पाएका छैनन् ।

बस संचालनमा चासो दिन आग्रह गर्दै नागरिक स्तरका विभिन्न संघ संस्थाका अगुवाहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल पत्रकार महासंघ, रामेछाप उद्योग वाणिज्य संघ र गैरसरकारी संस्था महासंघ लगाएतका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको ध्यानाकर्षण गराउदै बस बन्द हुदाँ रामेछापेलीको दिनचर्या कठिनाई भएकाले तत्काल बस संचलानको लागि माग गरेका थिए । तर त्यसको केहि दिन वितिसक्दा पनि प्रशासनको पहल प्रभावकारी हुन नसकेको गुनासो ति संघ संस्थाको छ ।