रामेछाप । मन्थली नगरपालिका ६ मा पर्ने भलुवाजोरको दक्षिणी फर्केको पाखो बेतिनीमा खानेपानीको समस्या बर्षौ देखिको हो । हरेक चुनाव आउदा यहाँ खानेपानीको समस्या बल्झन्छ, जव चुनाव सकिन्छ फेरी सुस्ताउछ ।

रामेछापको सदरमुकाम रामेछाप डाडाँमा हुदाँ सिन्धुलीको बाटोभएर आउने बटुवाहरुलाई बेतिनीमा पानी पाउन हम्मे हुन्थ्यो । भारी बोकेर आउने हुन या सरकारी मानिस, उकालो हिडेर भुतुक्क भएर आउने जो कोहिले पनि मुख रसाउन खानेपानी मागेर हैरान बनाउन थालेपछि जो आएपनि खानेपानी माग्ने गरेकाले स्थानीयहरुले घरमा पानी भएपनि छोरी बुहारीको पानी प्याओ भनेर तर्कने बेतिनीमा अहिले अवस्था अलि फेरीएको त छ, तर गाउँलेको चित्त बुझ्ने गरी खानेपानीको प्रयाप्तता छैन् ।

गाउँका विचबाट बडेमानका फलामे पाईपहरु गाँस्दै गरेको देखेर अब बल्ल पानी खान पाईएला भनेर गाँउलेहरुका विच चर्चा हुन थालेको केहि बर्ष वितेको छ । केहि सुनकोशी बाट उकालिएका र केहि तिल्केस्थानबाट ओरालिएका फलामे पाईपहरु रित्ता छन्, तिनमा पानी बग्दैन् । घर नजिक फलामे पाईप भएपनि गाउँलेहरु परापूर्वकाल देखि प्रयोग गर्दै आएको कुविण्डे खोलाको तिरतिरे पानीलाई जम्मा गरेर जसोतसो मुख रसाउदै छन् । नुहाउन, लुगा धुन अनि करेसावारी हरियो बनाउने उनीहरुको सपना पुरा भएको छैन् ।

चुनावका लागि भोट माग्दै भलुवाजोरको बेतिनी उकालिने राजनीतिक दलका उम्मेदवारहरु संग उनीहरुको एउटै प्रश्न छ, – ख्यै खानेपानी ? । ‘पहिले भोट माग्न जानेले खानेपानी ल्याईदिन्छु भनेर भोट लगे, तर हाम्रो समस्या जस्ताको तस्तै भएका बेला अर्को चुनाव आयो ’ स्थानीय कृष्णकुमारी लामा भन्छिन् – दलका उम्मेदवार फेरीए, हाम्रो दुखका दिन फेरीएनन् । न गाउँमा खानेपानी आयो न पहिले भोट मागेर लाने मानिस आए । लामा भन्छिन् – उम्मेदवार नयाँ आउदा पनि हाम्रो दुखेसो र माग उहि हो, – खानेपानी ल्याईदिनुस ।

बेतिनीका बासिन्दालाई खानेपानी खुवाउनका लागि केहि बर्ष अघि देखि सुनकोशी किनारको नबुघाटबाट लिफ्ट गर्ने खानेपानी योजना कार्यान्वयनमा आएको थियो । उक्त योजनामा पानी नतान्दै गत बर्ष सुनकोशीमा आएको बाढीले मुहानको ईन्टेकमा ठुलो क्षति पुग्यो । थप काम गर्नै बाँकी रहेकोले उक्त योजनामा अहिले सम्म पानी चलेको छैन् ।

दशक अघी मन्थलीको कुनाउरी नजिकबाट लिफ्ट गर्ने गरी निर्माणाधिन भलुवाजोर खानेपानी योजना गाउँलेहरुको लागि आकाशको फल आँखातरि मर भन्ने कथा जस्तै नमुना योजना बन्न पुग्यो । तामाकोशीको पानी पम्प मार्फत ईन्छिनडाँडाको टंकीमा झरे पनि गाउँमा वितरण गर्न सरोकारवाला निकायले सकेका छैनन् । गाउँमा वितरण पाईपहरुका लागि पुग्ने बजेट नहुँदा हरेक बर्ष थोरै काम गर्दैमा उक्त योजनाले गाउँलेको घाँटी रसाउन सकेको छैन् । रामेछापको दक्षिणी फर्केको भलुवाजोरको बेतिनी, हुलाकडाडाँ, कुभुण्डे जस्ता दर्जनौ वस्तीहरुमा परम्परागत खानेपानीका श्रोतहरु सुख्खाका कारण धमाधम सुक्दै गएका छन् ।

भलुवाजोर खानेपानी योजनामा सम्लग्न स्थानीय अगुवा समाजसेवि दिपक थापाका अनुसार अव केहि महिनामानै बेतिनी लगाएतका भलुवाजोरका विभिन्न वस्तीमा खानेपानीका धारा झर्ने गरी काम हुनेछ । ‘योजनाको धेरै काम बाँकी छैन्, यो बर्षको बजेटबाट खानेपानी योजना संचालनको तयारीमा छौं ’ थापाले भने । उक्त योजनाबाट भलुवाजोरको उत्तरी र दक्षिणी वस्तीहरुमा खानेपानी विरतण गर्ने लक्ष्य रहेको छ ।