रामेछाप । गत मंगलबार रामेछापको मन्थली नगरपालिका ६ लिलौतिको भिरबाट तामाकोशी झरेको बसबाट हराईरहेका थप एक जनाको शव मंगलबार नदी किनारमा भेटिएको छ । दुर्घटनास्थल भन्दा करिव २ सय ५० मिटर दक्षिण सुनकोशी नदीमा उक्त शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिम्सिनाका अनुसार उक्त दुर्घटनामा परि हराईरहेका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरका २४ बर्षिय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा फेला परेको हो । सुनुवारको परिवारका सदस्यले शवको सनाखत गरेका छन् । प्रहरी निरीक्षक तिम्सिनाले घटनास्थल मुचुल्का गरी शव लाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याउने तयारी भइरहेको छ ।
लिलौति भिरको सडक बाट तामाकोशीमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको यात्रुबाहक बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जादै थियो । उक्त दुर्घटनामा परेर सोहि दिन घटनास्थलमा १२ जनाको शव फेला परेको थियो । दुर्घटनामा परेर ८ जना घाईते भएका थिए र ३ जना हराईरहेका थिए । नदीमा डुबेर मृत्यू भएका थप २ वटा शव फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
प्रहरीले हराएका यात्रु मध्ये सोमबार मात्र मन्थली २ का ९ बर्षिय बालका क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट बजार नजिक सुनकोशी किनारमा फेला परेको थियो । बसमा यात्रा गर्ने ८ बर्षिय बालक रोनिस तामाङको अवस्था भने अझै अज्ञात छ । प्रहरीले खोजि कार्य जारी राखेको छ ।
