रामेछाप । नेपाली काँग्रेस रामेछापले चुनाव प्रचार प्रसारको क्रममा रामेछापको धोबिमा सोमबारका लागि तय गरेको आमसभा स्थगित गरेको छ । प्रचार प्रचारको क्रममा घर दैलो कार्यक्रम गर्दै आएको काँग्रेसले पहिलो आमसभा लिखु तामाकोशी गाउँपालिकाको धोविमा गर्ने गरी निर्धारण गरेको थियो ।
गत मंगलबार मन्थली ६ लिलौतिको भिरबाट तामाकोशीमा झरेको बसमा लिखु तामाकोशी गाउँपालिकाका ९ जनाको मृत्यू भएको घटना प्रति संवेदनशिल हुदै सिंगो पालिका शोकमा रहेको कारणले काँग्रेसले पूर्व निर्धारित आमसभाको कार्यक्रम स्थगित गरेको हो ।
नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका सभापति भोजराज खड्का ( सुन्दर ) अनुसार स्थगित भएको आमसभा फागुन १६ गते गर्नेगरी तय गरिएको छ ।
यसैविच लिखु तामाकोशी गाउँपालिकाले बस दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार गाउँपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारी र सो मातहत रहेका सवै निकायमा विदा लिने निर्णय गाउँपालिकाले गरेको हो ।
