रामेछाप । यात्रु बोकेर गुडेका बस विच बाटोमा रोकेर चालक र सह चालकलाई हातपात गरेपछि रामेछाप जिल्लाको मन्थली रुट भएर गुड्ने नेपाल अरनिको यातायात सेवा प्रालिका बस शनिबार देखि ठप्प छन् । शुक्रबार पनि विचमै बस रोकिएपछि यात्रु अलपत्र परेका थिए ।
दुर्गम गाउँ सम्म पुग्ने गरेका बस बन्द भएपछि शनिबार रामछापका विभिन्न गाउँमा पुग्ने र गाउँबाट काठमाडौं लगाएतका स्थानमा निस्कने यात्रुले सवारी साधनको अभाव भोग्नु परेको छ । केहि गाउँमा सिमित यात्रु बोक्ने सुमोहरु संचालन छन् तर ति अप्रयाप्त छन् । विद्युतिय सवारी साधन दुर्गममा पुग्दैनन् र पुगेपनि व्याट्री चार्जले नपुग्ने भए छ । दुर्गम गाउँका खाल्डाखुल्डी सडकमा तिनै बस गुड्थे र केहि यात्रु लाई भएपनि सेवा दिएका थिए, ति बन्द हुदाँ यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् ।
रामेछापको ठाडोखोला, सिवालय, बाम्ती, कुभुकास्थली, प्रिति, भुजि, गुप्तेश्वर, दुरागाउँ, सैपु, विजुलीकोट, गोठगाउँ, साँघुटार, ठोसे, रस्नालु, वेताली, नामाडि, फर्पु, खिम्ती, नागदह, हिमगंगा, ओख्रेनी, रामपुर लगाएतको क्षेत्रमा मन्थली रुट प्रयोग गरेर पुग्ने नेपाल अरनिको यातायात सेवा प्रालिका बसहरु असुरक्षाको कारण देखाएर सोमबार देखि क्यू स्थगित गरिएको छ । प्रालिले पश्चिमी रामेछापमा र दोलखाको जिरी भएर गुड्ने बस भने संचालन हुने जनाएको छ । ओखलढुंगाको सिमामा रहेको नबलपुरघाटको पुल हुदै साँघुटार र जिरी हुदै वाम्ती तर्फका क्यू भने यथावत राखिएको अरनिकोले जनाएको छ ।
मंगलबार बस दुर्घटना भएको स्थानमा र तिल्पुङको आरुबोटेमा यात्रु लिएर गुडेका बसलाई शुक्रबार बस दुर्घटनामा मृत्यू भएका परिवारका सदस्यले रोकेका थिए । आरुवोटेमा बस रोकेर चालक र सहचालक माथि कुटपिट भएको जनाइएको छ ।
दुर्घटनामा परेर मृत्यू भएकाहरुका आफन्तले बस संचालक समिति संग उचित क्षतिपूर्ति माग गरेका थिए । तर बस व्यवसायीले कुनै पनि क्षतिपूर्ति उपलव्ध नगराएकोमा उनीहरुको गुनासो छ । प्रशासनमा भएको सहमतिमा क्षतिपूर्तिका लागि पहल गर्ने उल्लेख थियो ।
नेपाल अरनिको यातायात सेवा प्रालिका रामेछाप जिल्ला ईन्चार्ज सुवाश फुयाँलका अनुसार महाशिवरात्रीका दिन त्यसैपनि क्यू स्थगित हुने गर्छ । फुयाँलले सोमबार देखि बस संचालन हुनसक्ने वताएका छन् । तर त्यसका लागि राज्यले वातावरण वनाउनु पर्ने उनले वताए ।
