रामेछाप । उत्तरपूर्वि रामेछापको उमाकुण्ड गाउँपालिका प्रभावशाली नेता हिक्मत सुनुवार नेपाली काँग्रेसमा फर्किएका छन् । उनलाई शुक्रबार नेपाली काँग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका रामचन्द्र खड्काले पार्टीमा स्वागत गरेका छन् ।
गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट नदिएपछि सुनुवारले काँग्रेस परित्याग गरि स्वतन्त्र रुपमा गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेर लोकप्रिय मत प्राप्त गरेका थिए । उम्मेदवारी हाल्ने दिन सम्म नेपाली काँग्रेसका नेता रहेका उनले स्वतन्त्र रुपमा उम्मेदवार भई काँग्रेसका आधिकारीक उम्मेदवारकै हाराहारीमा मत ल्याएका थिए ।
काँग्रेसमा फर्किएका सुनुवारले विगतमा नेपाली काँग्रेसको नेतृत्ववर्ग लिकमा नहुदाँ आफु असुन्तुष्ट भएर पार्टीबाट बाहिरीएको वताउदै अव नेपाली काँग्रेसमा नेतृत्व फेरीएको, देशभरीमा पार्टीमा नयाँ स्वरुप र संचार पैदा भएको र पार्टी पुरै परिवर्तन भएकोले आफु मुल घरमा फर्किएको वताएका छन् ।
उनले रामेछापमा काँग्रेसले निष्कलंक, दाग विनाको उम्मेदवार दिएकोले पनि आफुलाई नेपाली काँग्रेसमा फर्कनका लागि वातावरण बनेको वताए । सुनुवारले आफु र विगतमा आफु सगैं रहेका सवै साथिभाई तथा मतदाताहरुलाई आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई रुख चिन्हमा मत दिनका लागि आग्रह समेत गरेका छन् ।
