रामेछाप । मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारले शुक्रबार रामेछापमा संचालनमा आएका नेपाल अरनीको यातायात सेवा प्रालि यात्रु बाहक बस संचालनमा अवरोध गरेका छन् ।

काठमाडौं बाट लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ हुदै ओखलढुंगाको खिजी फलाटेका लागि छुटेको प्रालिको बा ६ ख ३८७६ नम्बरको यात्रुबाहक बसलाई स्थानीय आरुबोटेमा जम्मा भएर बसेका स्थानीयले रोकेर चालक श्यामवहादुर श्रेष्ठ र सह चालक राजेन्द्र बुढाथोकीलाई गरेका छन् । प्रालिका रामेछाप जिल्ला ईन्चार्ज सुवाश फुयाँलका अनुसार कुटपिटका कारण चालक घाईते भएको र सहचालक ज्यान बचाउन भागेर तिल्पुङकै हलेदे पुगेका छन् । खिजीबाट काठमाडौं तर्फ यात्रु बोकेर छुटेको बा ६ ख ०६३५ नम्बरको बस पनि आरुबबोटेमा रोकिएको छ । दुवै सवारी साधनमा रहेका झण्डै ५० जना यात्रु रहेका थिए । उनीहरु अलपत्र परेका छन् । घटनास्थलमा हाल जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय धोवि र प्रहरी चौकी खिम्तीबाट सुरक्षाकर्मी पुगेका छन् ।

बुधबार मध्यराती मृतकका आफन्त र स्थानीय प्रशासन विच अवरुद्ध सडक संचालन गर्ने, मृतकको शव वुझ्ने, कानुन बमोजिम दिईने क्षतिपूर्ति तत्काल उपलव्ध गराउने लगाएतको सहमति भएपछि शुक्रबार यात्रु बोकेर प्रालिका सवारी संचालन गरिएका थिए । सहमति विवरित सवारी साधन रोकिएको प्रालिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु लिएर रामेछापको मन्थली तर्फ आउदै गरेका उक्त यातायात सेवा प्रालिका अरु ३ वटा बस दुर्घटनास्थान रामेछापको मन्थली नगरपालिका ६ लिलौतिमा रोकिएका छन् । दुर्घटनाबाट तामाकोशीमा खसेको बस बाट हराईरहेका यात्रुको खोजिका लागि त्रिवेणी नजिक पुगेका आफन्तहरुले काठमाडौंबाट आएका बस रोकेका हुन् ।

यसैविच नेपाल अरनिको यातायात सेवा प्रालि भक्तपुरले शुक्रबार अपरान्ह सूचना जारी गरी खुर्कोट हुदै मन्थलीको बाटो प्रयोग गरी संचालन हुने सम्पूर्ण क्यू का बसहरु सुरक्षा जोखिमका कारणले अर्को सूचना नआए सम्मको लागि स्थगीत गरेको जनाएको छ । प्रालिले दुर्घटना स्थानमा सुरक्षा जोखिम रहेको जनाएको हो । प्रालिका उक्त रुट हुदै दैनिक झण्डै ७५भन्दा बढी यात्रुबाहक बस ओहोर दोहोर हुदै आएका थिए ।

मंगलबार विहान मन्थली ६ लिलौतिमा काठमाडौंबाट ओखलढुंगाको पोल्थलीका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुदा १२ जनाको घटनास्थानमानै ज्यान गएको थियो भने ३ जना वेपत्ता भएका थिए । दुर्घटनामा परेर ८ जना घाईते भएका छन् ।