रामेछाप । मंगलबार १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा परि वेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजी जारी छ ।

पुष्पलाल मार्गको खुर्कोट मन्थली खण्डमा पर्ने मन्थली नगरपालिका ६ लिलौतिको भिरबाट दुर्घटनामा परेको बस तामाकोशी नदीमा परेकोे थियो । वेपत्ता ३ जना नदी भित्रै हराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार वेपत्ताहरुको खोजी कार्य तिव्र पारिएको छ । नदी भित्र रहेको बसलाई खाँडादेवि गाउँपालिका तर्फको पश्चिमी किनारमा निकालेर केहि शव झिकिएको हुदाँ हराएका ३ जना नदी भित्रै रहेको आशंका गरिएको र नदीमै खोजि तिव्र पारिएको छ ।

बिहिबार दुर्घटनास्थल र त्यस भन्दा दक्षिण तर्फको केहि भागमा तालिम प्राप्त गोताखोर र अत्याधुनिक उपकरणहरुको प्रयोग गरी खोजि गरिएको थियो । शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सहित खोजि कार्य शुक्रबार पनि जारी रहेको तिम्सिनाले वताएका छन् ।

दुर्घटनाग्रस्त बसमा यात्रा गरिरहेका मन्थली २ का ९ बर्षिय बालक क्रिचन तामाङ, लिखु तामाकोशी ७ को ८ बर्षिय रोनिश तामाङ र उमाकुण्ड ६ का २४ बर्षिय विशाल सुनुवार वेपत्ता छन् । प्रहरीले उनीहरुको हुलिया सहित खोजि कार्यमा सहयोगका लागि अपिल पनि जारी गरेको छ । यसैविच दुर्घटना परेर वेपत्ता भएकाहरुको खोजि कार्यका लाागि परिवारजनहरु पनि तामाकोशी नदीमा जुटिरहेका छन् ।

मंगलबार काठमाडौंबाट यात्रु लिएर रामेछापको लिखु तामाकोशी हुदै ओखलढुंगाको पोल्थली जादै गरेको पूर्व अरनीको यातायात समितिको बस त्रिवेणी नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाएका, ८ जना घाईते भएका र ३ जना वेपत्ता भएका थिए । घाईतेहरुको धुलिखेल र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

दुर्घटनामा परेर ज्यान गुमाएका मृतकका परिवारले बुधबार उचित क्षतिपूर्ति, उपचार र कारवाहिको माग गर्दै यातायात अवरुद्ध पारेका थिए । राती अवेर सम्म भएको प्रयास पछि पिडित पक्ष र प्रशासन विच सहमति भएको थियो । सहमति बमोजिम बिहिबार यातायातका साधन संचालन भएका र मृतकहरुको शव पोष्टमार्टम पछि परिवारजनले वुझेका थिए । अधिकांश शवको विहिबारनै अन्तिम संकार गरिएको छ ।