रामेछाप । गाउँ छिचोलेस सडक निर्माण भएको दशक वितिसक्दा पनि बर्षायाममा सवारी साधन उपयोग गर्न कठिनाई बेहोर्दै आएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीका बासिन्दाले अव सुविधा सम्पन्न पक्कि सडकमा यात्रा गर्न लामो समय कुर्नु नपर्ने भएको छ ।
खिम्ती बेसी र पाखाबारी दुई अलगअलग स्थानबाट माथिल्लो खिम्ती तर्फ २ वटा सडकको काम एकैसाथ पक्की गर्ने गरी धमाधम काम अघी बढेको छ । अवको दुई महिनामा लोभलाग्दो सडकबाट माथिल्लो खिम्तीमा निस्कन पाईने आशामा स्थानीय प्रतिक्षा गरिरहेका छन् ।
सरकारले सडक डिभीजन खाल्टे सिन्धुली मार्फत खिम्तीका अलग अलग ३ वटा खण्डमा सडक पक्कि गर्ने गरी ठेक्का लगाएको थियो । तीन खण्डका लागि ९ करोड बजेट विनीयोजन गरी ठेक्का आव्हान भएकोमा निर्माण व्यवसायीले झण्डै ६ करोडमा तोकिएको कार्य गर्ने गरी सडक डिभिजन संग ठेक्का संझौता गरेका छन् । निर्माण कार्य आउदो असार मसान्त सम्म सक्नुपर्ने गरी ठेक्का संझौैता भएपनि उक्त तीन वटै खण्डको काम तोकिएको अवधि भन्दा अगावै सक्ने लक्ष्य निर्माण व्यवसायीले राखेका छन् ।
पाखाबारी असारे सडकको डेढ किलोमिटर र खिम्ती सिमलडाडा सडकको डेढ किलोमिटर सडक यो बर्ष सकिने भएका छन् । माथिल्लो खिम्तीमा पर्ने तेश्रो खण्डको काम पनि भइरहेको छ ।
निर्माण व्यवसायी थापा निर्माण सेवाका शंकर थापाका अनुसार खिम्ती र पाखाबारी दुवै तर्फका सडक ज्यामिरे स्थित विद्यालय भन्दा केहि तल जोडिने छन् । पुष्पलाल मार्गबाट उकालो लाग्ने दुवै सडकको अधिकांश भागमा ढलान गर्ने र केहि भागमा कालोपत्र गर्ने योजना रहेको छ । ‘हामी ढलानको अन्तिम तयारीमा छौ ’ थापाले भने – नाला, पर्खाल र पल्म्पको काम सम्पन्न भइसकेको र हाल सडकमा सव–वेस राख्ने काम भइरहेको छ ।
सडक विभाागले उक्त सडकहरुको स्तोरोन्नति गर्नका लागि बहुबर्षिय खरिद योजना स्वीकृत गरेको जनाइएको छ । यस बर्ष साँढे ४ किलोमिटर सडक कालोपत्र सम्पन्न भएपनि आगामी आर्थिक बर्षमा पनि बजेटको सुनिश्चित हुने गरी योजना अघी बढेकोले अव खिम्तीबेसी देखि माथिल्लो भेग सम्मका बासिन्दालाई हिउँद बर्षै सहज सडक उपलव्ध हुने भएको छ । खिम्तीबाट सिवालय विर्ता , गैरी हुदै उक्त सडक लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवि जोडिएको छ । सडकको अवस्था जर्जर भएकाले खिम्तीबाट धोवि जानका लागि अधिकांशले हाल तिल्पुङ तर्फको सडक प्रयोग गर्ने गरेका छन् । तर खिम्तीकै माथिल्लो क्षेत्रमा जानुपर्ने स्थानीयले भने कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेकै छ ।
