रामेछाप । मंगलबार भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातमा सहमति भएपछि मृतकका आफन्तहरुले शव बुझेका छन् । मन्थली अस्पतालमा राखिएका शवहरु पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाउन थालिलएको छ ।
पिडित पक्ष र सरकारी वार्ता टोली विच बुधबार राति अवेर सहमति बनेपछी बुधबार देखि रोकिएको यातायात समेत संचालनमा आएको छ । मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेका थिए । मृतकका परिवारलाइ कानुन बमोजिमको क्षतिपूर्ति उपलव्ध गराउन पहल गर्ने र घाइतेको उपचारमा कुनै कमी हुन नदिने गरी सहमति भएको पिडित पक्षले जनाएका छन् ।
दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरूलाई कानुन बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष लगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरू सहित बस संचालक अरनिको यातायात सेवा प्रालिसँग वार्ता गर्ने सहमति पनि भएको छ ।
दुर्घटनाका सवारी चालकलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरूको खोजी कार्य जारी राख्ने र हराइरहेका यात्रुहरूको सम्बन्धमा मृतक सरह मानी नियमानुसार क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराउने सहमति पनि बुधबार रातीको सहमतिमा उल्लेख छ । उक्त छलफलमा पिडित पक्षले विभिन्न माग राखि गरीएको विरोधका सवै कार्यक्रम फिर्ता लिने पनि सहमति वनेको थियो । बुधबार मृतकका आफन्तहरुले पुप्पलाल राजमार्ग अन्तरगतका विभिन्न स्थानमा अवरोध गरि सवारी आवागमनलाई ठप्प पारेका थिए ।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मङ्गलवार बिहान मन्थली नगरपालिका–६ स्थित लिलौतिमा दुर्घटना भएको थियो । बस सडकको सुरक्षाका लागि राखिएको डिभाईडरमा ठोकिदै तामाकोशी नदीमा खसेको थियो।
उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। सो सवारीमा यात्रा गरीरहेका अन्य ३ जना अझै वेपत्ता छन् । बस नदिमा परेकाले वेपत्ता हुनेहरुलाइ पानीले बगाएको हुन सक्ने आशंका गरिएको छ । परिवारजनले उनीहरुको हुलिया दिदै खोजि गरिदिन प्रहरीमा जाहेरी दिएका छन् ।
